बान्द्रेको ढुंगाखानी अबैध ठहर, वन्द गर्न बन कार्यालयको निर्देशन

1459 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । अबैध रुपमा संचालनमा आएको भन्दै सर्वत्र विरोध भईरहेको धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ मा रहेको खाल्टेखोला सामुदायिक वन भित्रको बान्दे्र ढुंगाखानी तत्काल बन्द गर्न डिभिजन वन कार्यालयले निर्देशन दिएको छ । गल्छी गाँउपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठका छोरा दिलिप श्रेष्ठले गलत तथ्याङक दिएर खानी विभागबाट ढुंगाखानी दर्ता गराई अबैध रुपमा सञ्चालन गरेको भन्दै एक टेलिभिजनको कार्यक्रममा बिषयले प्रवेश पाएपछि यो ढुंगाखानी राष्ट्रिय स्तरमा चर्चामा आएको थियो । पूरै जंगल भएको ठाउँमा ४ ओटा मात्र भलाया प्रजातीको रुख छ भनि देखाएर खानी दर्ता गरिएको स्थानीयवासीले वताए ।
बान्द्रे ढुंगा खानीले तत्कालीन जिल्ला वन कार्यालय तथा हालको डिभिजन वन कार्यालयबाट समेत कुनै अनुमति नलिई खानी दर्ता गरिएको वन कार्यालयले जनाएको छ । बान्द्रे ढुंगा खानीले खानी विभागमा दर्ता हुनु अघि जिल्ला वन कार्यालयबाट अनिवार्य अनुमति लिनुपर्नेमा त्यस्तो अनुमतिनै नलिई खानी दर्ता गराएको पाईएकाले खानी अवैध भएको डिभिजन वन कार्यालय धादिङका प्रमुख रामहरी सेढाईको भनाई छ । खानी रहेको क्षेत्र स्थानीय खाल्टेखोला सामुदायीक वन क्षेत्रमा पर्ने र सो वन भित्र कुनै पनि उद्योग तथा अन्य व्यक्तिले खानी सञ्चालन गर्न भनि अनुमति नलिएको डिभिजन जिल्ला वन कार्यालयले जनाएको छ ।
डिभिजन बन कार्यालय धादिङले खाल्टेखोला सामुदायिक वन भित्र सञ्चालन भएको खानीको स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि गल्छी गाँउपालिका र वडा नम्वर ७ लाई तत्काल खानी बन्द गर्न पत्राचार गरेको प्रमुख सेढाईले जानकारी दिए । गल्छी गाँउपालिका अध्यक्ष समेत रहेका कृष्णहरी श्रेष्ठले आफ्नो छोराले खाल्टेखोला सामुदायिक वनमा खानी सञ्चालन गरेको बिषयमा आँफूलाई थाहा नभएको दाबी गर्दै आएका छन ।
गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठका छोरा दिलिप श्रेष्ठले खानी विभागमा बान्द्रे ढुंगा खानी नामको उद्योग दर्ता गराएका छन् । यही उद्योगले गल्छी गाउँपालिका वडा नम्बर ७ वान्द्रेनजिकैका जंगलमा ढुंगा उत्खनन गरिरहेको स्थानीयबासी बताउँछन ।
खानी सञ्चालनमा आएसँगै भल्टार लगायतका गाउँबस्तीका ३ सय परिवारले प्रयोग गर्दै आएको खानेपानीको पाइप र करीब २ हजार रोपनी जमिनका लागि सिंचाई हुने कुलो जोखिममा परेको गाउँलेहरुको भनाई छ । गल्छी गाँउपालिका ७ का वडा अध्यक्ष हरीप्रसाद खतिवडाले खानी सञ्चालनमा आएसँगै ठुलो प्राकृतिक विनाश तथा खानेपानी, सिंचाई र जंगल जोखिममा पर्ने भएकाले आँफूले खानी सञ्चालनका लागि सिफारिस नदिएको बताए ।
अहिले सिफारिस नदिएपनि स्थानीय निकायको निर्वाचनको अघि नै खानी दर्ता भएकाले अहिले आँफूले रोक्न नसकेको वडा अध्यक्ष खतिवडाको भनाई छ । यो ढुंगाखानी २०७१ सालमा बालकृष्ण महर्जनको खानी विभागमा दर्ता भएको थियो तर उक्त समयमा अहिलेका गाँउपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले नै खानी सञ्चालनका कारण प्राकृतिक विनास, सिंचाईको कुलो र खानेपानीको पाईपमा क्षती पुगेको भन्दै रोक्न लगाएका थिए । तर श्रेष्ठनै गाँउपालिका अध्यक्ष निर्वाचित भएर आएपछि बालकृष्ण महर्जनको नामबाट अध्यक्ष श्रेष्ठका छोरा दिलिप श्रेष्ठको नाममा खानी ल्याएर खानी सञ्चालनमा आउनुलाई स्थानीयबासी यो संयोग मात्रै मान्न नहुने बताउँछन ।
छोराले ढुंगा खानी संचालन गरेको बिषयमा आंफुलाई कुनै जानकारी नभएको र मिडियाले कुरै नबुझि आफ्नो खेदो खन्दै आएको अध्यक्ष श्रेष्ठको भनाई छ । छोराले ढुंगा खानी सञ्चालन गरेको जानकारी नभएको तर्क उनको छ । उनी अध्यक्ष रहेको गल्छी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडीले पनि खानी सञ्चालनका विषयमा अनविज्ञता जनाउँदै आएका छन् । गाउँपालिका अध्यक्ष श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत दुवै जनाले वान्द्रे ढुंगाखानीको बिषयमा कुनै जानकारी नभएको दावी गरेपनि ऐडीले २०७५ फागुन १४ गतेको मितिमा लेखेको पत्रमा ७ नम्बर वडा कार्यालयलाई उतm खानीबाट राजश्व उठाउन भन्दै पत्रचार  गरेका थिए । एकातिर आंफुलाई खानीको बिषयमा जानकारी नभएको भन्ने र अर्को तिर कर संकलनका लागि वडालाई पत्राचार गर्ने  प्रशासकीय अधिकृत ऐडीको भूमिका विवादास्पद भएको स्थानीयको गुनासो छ ।