एसियाली विकास बैंकका उपाध्यक्ष चेन र अर्थमन्त्री डा.खतिवडा बिच भेटबार्ता

1020 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं–लगानी सम्मेलन २०१९ मा सहभागी हुन आउनु भएको एसियाली विकास बैंकका उपाध्यक्ष चेन चेन ले अर्थमन्त्री डा.युवराज खतिवडासंग शिष्टाचार भेट गर्नु भएको छ । भेटका अवसरमा अर्थमन्त्री डा. खतिवडाले नेपालले संघीयता कार्यान्वयनका सन्दर्भमा वर्तमान सरकारले एक वर्षमा गरेका कार्यहरु बारे जानकारी दिंदै नेपालको आर्थिक सामाजिक विकास हालसम्ममा बैंकले गरेको सहयोगको लागि धन्यवाद दिनुभयो । उर्जा, सडक सञ्जालको विकास, पर्यटन, कृषि लगायतका क्षेत्रमा थप सहायता परिचालन गर्ने विषयमा समेत छलफल भएको थियो ।
उपाध्यक्ष चेनले निजी क्षेत्रको लगानी प्रवद्र्धनका लागि वर्तमान सरकारले लिएका सुधारका प्रयासहरुको प्रशंशा गर्दै वर्तमान सरकारले राजनैतिक स्थायित्व दिन सक्ने र विकासका लागि धेरै काम गर्न सक्ने अवसर भएको बताउनु भयो । खासगरी अर्थमन्त्री डा. खतिवडाको नेतृत्वमा अर्थ मन्त्रालयले आर्थिक समृद्धिको लागि पर्याप्त काम गर्न सक्ने अवसर प्राप्त भएको अनुभव सुनाउनु भयो ।
छलफलको क्रममा उपाध्यक्षले वर्तमान सरकारको प्राथमिकता अनुसार भौतिक पूर्वाधारको विकास र खासगरी पूर्व पश्चिम राजमार्गको स्तरोन्नती, मेलम्ची खानेपानी दोश्रो आयोजनाको कार्यान्वयन, दुधकोशी, उर्जा विकास, पर्यटन पूर्वाधार, कृषि विकास लगायतका क्षेत्रहरुमा सहयोग बढाउँदै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अर्थमन्त्री डा. खतिवडाले लगानी सम्मेलनमा उपाध्यक्ष चेनको नेपाललाई थप सहयोग गर्न तयार रहेको धारणाको लागि धन्यवाद दिनुभयो । भेटमा बैंकका नेपाल स्थित आवासिय निर्देशक मुख्थर खमुदपनोभ तथा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल समेत सहभागी हुनुहुन्थ्यो ।