आमडाँडामा खानेपानी आयोजना सम्पन्न,गाउँबासी भए खुसी

1008 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आमडाँडा – खानेपानीको निकै दुःख रहेको आमडाँडाको बस्तीमा हिजो आज टोल टोलमा धारामात्रै वनेको छैन, धाराबाट चौविसै घण्टा पानी आउन थालेको छ । खानेपानीको निकै दुःख रहेको यो बस्तीलाई २०७२ सालको भुकम्पले झनै थिलथिलो बनाईदियो । बस्ती नजिकैका सबै मुहान सुकेपछि खानेपानीको चरम संकट भोग्न आमडाँडाबासी वाध्य भएका थिए । तीन बर्ष अघि बस्तीनै छाडेर हिंड्ने अवस्थामा पुगेका गाउँबासीको मुहारमा अहिले खुसीयाली छाएको छ । पिउने पानीको अभावले बस्ती नै छाड्नु पर्ला जस्तो अवस्था भोगेका गाउँवासीलाई खुसी दिने काम रेडक्रसले गरेको हो ।
भुकम्पले मुहानहरु सुकेर गाउँमा खानेपानीको संकट भोगिरहेका गल्छी गाउँपालिका वडा नम्बर ३ आमडाँडाका वासिन्दाको समस्या समाधानका लागि कोरियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले भुकम्प प्रतिकार्य कार्यक्रम मार्फत गाउँमा खानेपानी आयोजना मार्फत खानेपानी सुविधा उपलव्ध गराएको हो ।
कुल १५ लाख ८३ हजार ६ सय ४२ रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको खानेपानी आयोजनाबाट १६ वटा धारा मार्फत यहाँका ७२ घरपरिवारले खानेपानी उपभोग गर्न पाएका छन ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले विहिवार एक कार्यक्रमको आयोजना गरि आयोजनाको हस्तान्तरण गरेको हो । जिल्ला शाखाका सभापति सिताराम कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा कोरियन रेडक्रसका प्रतिनिधि, जिल्ला शाखाका पदाधिकारीहरु,वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कोरियन रेडक्रसका प्रतिनिधिले हिमालयन देवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गिरिराज खतिवडालाई प्रमाणपत्र दिंदै आयोजना हस्तान्तरण गरिएको हो ।