जो मान्छे २५ वर्षदेखि घाँसपात खाएर बाँचिरहेको छ

977 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पाकिस्तान- पच्चिस बर्ष देखि घाँस मात्रै खाएर मान्छे बाँचेको छ भन्ने सुन्दा बकवास हो कि भन्ने पनि लाग्न पनि सक्छ । झट्ट सुन्दा अपत्यारिलो लागेपनि पाकिस्तानमा एक जना व्यक्तिको यस्तै आदतनै बनेको छ । ५० वर्ष कटिसकेका मेहमूद बट पछिल्लो २५ वर्षदेखि रुखका पात, घाँस तथा काठ खाएर बाँचिरहेकै मात्रै छैनन दुनियाँलाई चकित पनि पारिरहेका छन् ।
मेहमूदको यो बानी त्यसै लागेको भने होइन ,२५ वर्षअघि गरिबीको कारण घरमा खाने अन्नको दाना र अरु खानेकुरा केही नहुँदा शुरुका दिनमा बाँच्नैका लागि उनले मिठो लाग्ने रुखका पात, घाँस तथा काठहरु खान थालेका थिए । केही समय त्यसरी खाईसकेपछि उनका लागि त्यो आदत नै बन्न पुगेको हो । शुरुका दिनमा चरम गरिबीका कारण घाँस खाएर छाक गुजारेका मेहमुदले पछिल्ला दिनमा सबैलाई चकित पार्दै आएका छन् ।
सडकमा बसेर दुनियाँ संग मागेर खानु भन्दा घाँसपात खाएरै प्राण धान्नु आफुलाई उत्तम लागेकाले त्यसो गरेको उनी बताउँछन् । घाँसपात तथा काठले छाक गुजार्दै जाँदा उनको त्यसैमा लत बस्यो । पछि उनले केही कमाई गरे र हातमुख जोर्ने जोहो गर्नसक्ने भए । तर घाँसपात र काठ खाने उनको लत भने कसैले पनि छुटाउन सकेका छैनन ।
स्वस्थ देखिने उनी अहिले आफ्ना गधा गाडामा सामान ओसार्ने काम गर्छन र दिनमा ६ सय भन्दा बढी पाकिस्तानी रुपैयाँ कमाउँछन । तर उनको ध्यान मिठो मिठो खानेकुरा किनेर खानेमा भन्दा पनि कुन रुखमा राम्रा र कलिला पात पलाएका छन ? कुन रुखको काठ मिठो हुन्छ ? भन्नेमै गईरहेको हुन्छ ।
स्थानीय बासिन्दाका अनुसार गधा गाडामा सामान ओसार्ने काम गरिरहँदा बाटोमा ठाउँठाउँमा गाडा रोकेर उनले रुखका पात तथा काठ टिपेर मुखमा बुजो लगाइरहन्छन । पहिलो पटक उनले घाँस र काठ खाएको देख्नेहरुलाई अचम्म लागेपनि उनलाई चिनेकाहरु भने यो बिषयलाई सामान्य ठान्दछन् ।
जहिले देखि उनले काठ र पात खान थाले त्यसपछिका दिनमा उनी कहिले बिरामी नपरेको उनका आफन्तहरु बताउँछन । ज्यानमा कहिल्यै बिसन्चो नभएकापछि उनि अहिलेसम्म कुनै डाक्टर तथा अस्पताल पनि जानु परेको छैन ।
एजेन्सी /अनलाइनखबर