धादिङ ६५ औं खुल्ला दिशामुक्त जिल्ला घोषणा

2114 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २४ चैत – राष्ट्रिय अभियानका रुपमा संचालन गरिएको खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम अन्र्तगत धादिङ जिल्लालाई मुलुककै ४६ औ खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरिएको छ ।
प्रमुख अतिथि धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीले आईतबार एक कार्यक्रमका बीच धादिङ जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्नुभएको हो । विकास क्रमिक रुपमा अघि बढ्दै जाने अभियान भएकाले दिगो विकास र परिवर्तनका लागि सबैपक्षले सकरात्मक भएर अघि बढ्नु पर्नेमा जोड दिनु भयो । बोलेर होइन काम गरेर देखाएपछि मात्र परिवर्तन सम्भव रहेकोले खुल्ला दिशामुक्त घोषणा कार्यक्रमलाई निरन्तरता दिन जिल्लाका सबैपक्ष को सहभागिता र सक्रियता हुनुपर्नेमा उहाँले जोड दिनुभयो । धादिङको राजमार्ग क्षेत्र, मु्ख्य वजार र मानिसहरुको चहल पहल धेरै हुने ठाउँमा सार्वजनिक शौचालय बनाएर प्रयोगमा ल्याउने व्यवस्था मिलाउन कार्यक्रमका प्रमुख अतिथि सांसद लोहनीले जिल्ला स्थित सरोकारवाला निकाय र स्थानीय तहलाई आग्रह गर्नु भएको छ ।
कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद डाक्टर राजाराम कार्की, राष्ट्रिय खानेपानी तथा सरसफाई स्वच्छता समितिका सदस्य सचिव डाक्टर देवेन्द्र झा, धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी, ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष जानुका सिम्खडा, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्याल नेकपाका जिल्ला सदस्य प्रेमनाथ सिलवाल, नेपाली काँग्रेसका उपसभापति भक्त लामा, नयाँ शक्ति पार्टीका प्रतिनिधि नन्दप्रसाद काप्रीका साथै दातृ निकायहरुको तर्फबाट युनिसेफका बोधनारायण श्रेष्ठ, खानेपानी तथा सरसफाई डिभिजन धादिङका प्रमुख किरण आचार्य लगायतका बक्ताले कार्यक्रमका बिषयमा आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा ११ गाउँपालिका र दुई नगरपालिका रहेको धादिङमा ८५ हजार ९१ वटा निजी चर्पी बनेर प्रयोगमा आईरहेको तथ्यांक पेस गरिएको थियो ।
भूकम्प जानु अघिनै गाउँ गाउँमा अभियान संचालन गरि चर्पी निर्माण भईरहेकोमा भुकम्पले ८० प्रतिशत चर्पीमा क्षती पु¥याएपछि भुकम्पगएपछि खानेपानी तथा सरसफाइ क्षेत्रमा काम गर्न जिल्ला आएका सरकारी, गैर सरकारी, विदेशी संघसंस्थाले बृहद अभियान सञ्चालन गरि सहयोग पु¥याएका कारण जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न सकिएको जिल्ला समन्वय समिति धादिङका प्रमुख एवम जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक जगन्नाथ नेपालले कार्यक्रममा वताउनु भयो ।
स्थानीय तह, संघ संस्था तथा मिडिया सम्मानित
जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न वडा तह देखि कार्यक्रम संचालन गरी खुल्ला दिशामुक्त वडा, गाउँपालिका, नगरपालिका घोषणा गरेका जिल्लाका १३ वटै स्थानीय तहलाई कार्यक्रममा सम्मान गरिएको थियो । यसै गरी धादिङ जिल्लामा संचालित सरसफाई अभियानमा समाचार माध्यमको तर्फबाट महत्वपूर्ण योगदान गरेको भन्दै खुल्ला दिशामुक्त घोषणा कार्यक्रममा जिल्लामा रहेका विभिन्न संचार माध्यमलाई प्रशंसा पत्र दिएर सम्मान गरिएको छ । यसरी सम्मानित हुने मिडियाहरुमा धादिङ न्यूज डट कम, पाविल न्यूज डट कम,धादिङ पोष्ट डट कम, नागरिकपाटी डट कम, धादिङ संचार डट कम, रेडियो धादिङ, रेडियो विहानी, नीलकण्ठ एफएम, दिव्यदर्शन टेलिभिजन, रेडियो राजमार्ग, कृषि एफएम, धादिङ आवाज दैनिक लगायतका मिडियाहरु रहेका छन । यसै गरी सरसफाई अभियानमा सहयोग गर्ने बिभिन्न संघ संस्था र अभियन्ताहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।