तीन देशका १६ आरोहीको संयुक्त टोली धादिङको पाल्दोर हिमाल चढ्दै

2018 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, । एसियाको उच्च पर्वतीय क्षेत्रमा कार्यरत संस्थाहरुको छाता संस्था (यूएएए) को २५औं स्थापना दिवसको अवसरमा तीन देशका आरोहीहरूको संयुक्त टोलीले नेपालको धादिङ रुबीभ्याली गाउँपालिका स्थित पाल्दोर हिमालको आरोहण गर्ने भएको छ ।धादिङ जिल्लाको पर्यटन विकासका लागि गणेश हिमाल छेउमा रहेको पाविल पाल्दोर (पाविल) हिमालको आरोहण गर्ने भएका हुन ।

 यूएएएमा नेपालको प्रतिनिधित्व गरिरहेको नेपाल पर्वतारोहण संघ (एनएमए) ले शनिबार काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरी पाल्दोर हिमाल आरोहण बारे जानकारी दिएको हो ।‘यूएएए ज्वाईन्ट पाल्दोर पिक एक्सपिडिसन’ नाम दिईएको सो आरोहणमा दक्षिण कोरियाका नौ, मङ्गोलियाका दुई र नेपालका पाँच गरी १६ आरोही सहभागी हुनेछन् । जसमा दक्षिण कोरियाबाट साङ्ग ली हा, कुक–जीन सुन्वु, योङ्ग वुक किम, योङ्ग चोईल शीन, जिन सियोङ्ग किम, जियोङ्गसिक यू, जाई चाङ्ग जीन र मिगोन किम गरी ६ आरोही रहनेछन् । यस्तै, मङ्गोलियाबाट गान्बाटार र इल्बेगारगल दुई आरोही रहने छन् भने नेपालको तर्फबाट साङ्गी लामा, पेम्बा शेर्पा, गाल्देन शेर्पा, मन्दीप गुरुङ र विकास गुरुङ गरी ६ आरोहीले १० दिनको प्याकेज बनाई काठमाडौंबाट गल्छी, नुवाकोट, रसुवा स्याफ्रुबेसी, गत्लाङ, धादिङ सोम्दाङ, रुबीभ्याली हुदै ५ हजार ८ सय ९६ मिटरको उचाई रहेको पाल्दोर पिक पुग्ने छन् ।

एनएमए र यूएएएले पर्वतारोहण सम्बन्धी प्राबिधिक ज्ञानको बृद्धि र आदान प्रदान गर्न तथा यूएएएका सदस्यहरूबीच नजिकको सम्बन्ध विकास गर्ने उदेश्यले संयुक्त आरोहणको आयोजना गरिएको जनाएको छ । आरोहण टोली आईतबार काठमाडौंबाट आरोहणका लागि धादिङको गल्छी हुँदै रसुवा तर्फ लागेका छन् । टोली हिमालको सफल आरोहण पश्चात टोली अप्रिल १५ मा काठमाडौं फर्कने जनाइएको छ । पाल्दोर काठमाडौबाट सबैभन्दा नजिक र सबैभन्दा छोटो समयमा आरोहण गर्न सकिने हिमाल हो । सन् १९४९ मा दुई विदेशी आरोहीहरूले सफल आरोहण गरेपछि पाल्दोर हिमालको आरोहण सुरु भएको थियो । पछिल्लो पटक  सन् २०१० मा पनि यूएएएको स्थापना दिवसकै अवसरमा नेपाल, जापान, कोरिया र मंगोलियाका आरोहीहरूको संयुक्त टोलीले पाल्दोर हिमालको आरोहण गरेका थिए । पाँच हजार नौ सय तीन मीटर अग्लो यो हिमालको हालसम्म तीनसय भन्दा बढिले आरोहण गरिसकेका छन् ।यूएएएको स्थापना दिवसको अवसरमा संयुक्त टोलीले पाल्दोर हिमालको आरोहण गर्न लागेको यो दोस्रो अवसर हो ।संयुक्त आरोहण टोलीले सोमदाङ पदमार्गदेखी पाल्दोर हिमालको उच्च क्याम्पसम्मको फोहोर समेत संकलन गरी काठमाडौं ल्याउने नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष शन्तबीर लामा र यूएएएका अध्यक्ष डाक्टर ईन जीयोङ लीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आरोहणका लागि आवश्यक रकम आरोहणमा सहभागी प्रत्येक देशले नै जुटाएको नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष लामाले बताउनुभयो । ‘नेपालबाट आरोहण टोलीमा सहभागी आरोहीहरुलाई एनएमएले आर्थिक सहयोग गर्नेछ’, अध्यक्ष लामाले भन्नुभयो, ‘यूएएए र नेपालको संयुक्त आरोहण आयोजनाले नेपाल भ्रमण वर्ष २०२० लाई पनि सघाउ पुग्नेछ ।’आरोहीहरुलाई यूएएएका अध्यक्ष डाक्टर ली ले आरोहण सफलताको शुभकामना दिनुभएको थियो ।  ’एशिया पर्वतारोहण महासंघले आफ्नो स्थापना दिवसको अवसरमा यस पटक नेपालका हिमाल आरोहण गर्ने गत वर्ष नै निर्णय गरेको थियो । उक्त संस्थाले नेपालको कुन हिमाल आरोहण गर्ने भन्ने निर्णय समेत गरेको थिएन । गणेश हिमाल पर्यटन विकास समितिका पूर्व अध्यक्ष समेत रहेका कुलवहादुर गुरुङको विशेष पहलमा धादिङको रुबीभ्याली गाउ‘पालिकाको पाल्दोर पिक आरोहण गर्न लागेको हो । पाल्दोर हिमाल एनएमएले ब्यबस्थापन गर्दै आएको २७ वटा हिमालमध्ये एक हो ।
पाल्दोर हिमाल राजधानीबाट सवैभन्दा नजिकै पर्ने हिमाल भएको र यातायात सुविधा पनि भएकोले यसैलाई छनौट गरिएको महासचिव गुरुङले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । स्थानीय भाषामा पाविल हिमाल नामले चिनिने यो हिमाल आरोहण हुन लागेको पहिलो पटक हो । पाविल हिमाल पर्वतारोहण सफल र प्रचारमा आउन सके धादिङको विकासका लागि अत्यन्त प्रभावकारी भूमिका खेल्ने कुलबहादुर गुरुङ बताउनु हुन्छ । पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे लगायतले पनि आरोहण टोलीलाई शुभकामना दिनुभएको छ । आरोहणमा नेपाली टोलीको नेतृत्व सिङ्गी लामाले गर्नुहुनेछ । सगरमाथा, कंचनजंगा, धौलागिरी लगायत दर्जनौ हिमाल आरोहण गरिसक्नुभएका लामा एनएमएका सचिवालय सदस्य समेत हुनुहुन्छ ।