लगानी बिनै सोसल मिडिया बाट आम्दानी गर्न सकिन्छ

978 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं – विराटनगरबाट राजधानी आएका उमेश विश्वकर्मा कक्षामा पढाई सकाईसकेपछि सोसियल मिडिया मार्केटिङमा व्यस्त हुन्छन् । लगानी नै नगरी उनले राम्रो कमाई गरिरहेका छन् । हिजोआज सामाजिक सञ्जाल प्रयोग नगर्नेहरु कमै हुन्छन् । त्यसमा पनि फेसबुक । उनले पनि यसैको फाईदा लिईरहेका हुन् । विशाल बजार, आरवी कम्प्लेक्स लगायतका स्थानमा भएका कपडा पसलमा गएर तस्विर खिच्छन् । त्यो पसलका साउजीसंग उनले छुट्टै ‘डील’ गरेका हुन्छन् । विश्वकर्माले आफ्नो फेसवुक लगायत विभिन्न ग्रुपहरुमा ‘फल्ना चिज’ विक्रीमा भनेर पोष्ट गर्छन । त्यसको तल आफ्नो फोन नंम्बर राख्छन् । अर्डर आईहाले आफैले डीलदेखि डेलिभरी गरिदिन्छन् । उनी भन्छन्, ‘पैसा तिरर सामान डेलिभरी गरेपनि हुन्छ वा सामान डेलिभरीपछि पैसा तिरेपनि हुन्छ ।’ निश्चित कमिशन लिएर उनी आफैले बनाएको मार्केटबाट मासिक १५, २० हजार कमाउने गरेको बताउँछन् । पढाई मात्रै नभएर खानाबस्ने खर्च समेत आफैले कमाएको रुपैँयाले टार्ने गरेका छन् ।

त्यसैगरी पोखराबाट आईटी पढ्न आएका विपिन कार्कीको कथा विश्वकर्माको भन्दा केही फरक छ । प्रकृति उस्तै भएपनि उनले विभिन्न कम्पनीसंग डीलगरी ब्राण्ड प्रोमोशनको जिम्बेवारी लिर्दै आएका छन् । कुनै वस्तु उत्पादनदेखि ब्राण्ड प्रमोशन समेत गरिदिदा एउटा कम्पनीले ८, १० हजारसम्म दिने गरेको उनी वताउँछन् । यस्ता २, ३ वटा कम्पनीसंग सम्झौता गरेर उनले पनि महिना २० हजारबढी कमाईरहेका छन् । पढाई बाहेकका समयमा गरिने यस्ता कामले उनीहरुलाई थप क्रिएटिभ बनाउने उनीहरुको अनुभव छ ।विश्वकर्मा र कार्की त प्रतिनिधि पात्रहरु मात्रै हुन् । यस्ता काम गर्ने विद्यार्थीहरु यहाँ थुप्रै भेटिन्छन् । सरकारले प्रतिवन्ध लगाउने भनिएको टुटल र पठाओमा समेत काम गरेर धेरै युवाले रोजगारी सृजना गर्दै आएका छन् । टुटल र पठाओमा आवद्ध हुने युवाहरुले महिनामा ६० हजारभन्दा बढी कमाउछन् । सोसियल मिडिया र अनलाईन सेवालाई सही सदुपयोग गर्न जान्दाको फाईदाहरु अरुपनि थुप्रै छन् ।

स्वदेश तथा विदेशमा वस्ने युवाहरुले विभिन्न नाममा ग्रुप र पेजमा सदस्य बढाएर पनि रुपैँया कमाईरहेका छन् । ग्रुप तथा पेज विक्री गरेर मात्रै नभएर भाडामा लगाएर पनि मनग्य आम्दानी गर्दै आएका छन् । एक लाख सदस्य भएको ग्रुपलाई ३० देखि ७० हजारसम्म विक्री हुने गरेको पाईन्छ । यस्ता ग्रुप र पेज थुप्रै बिक्री गरिसकेको शान्तिनगरका गणेश कडेल वताउँछन् । अझ यस्ता काममा नेपालमा भन्दा श्रम गर्न विदेश गएकाहरु बढि क्रियाशिल छन् । दश लाख सदस्य भएको ग्रुपमा समाचार वा कुनै ब्राण्डको प्रमोशन गरेबापत मासिक दश हजारसम्म लिने गरेको कडेल बताउछन् ।

सामाजिक सञ्जालमामध्ये फेसबुकले समय समयमा नियम परिवर्तन गरिरहन्छ । यस्तो अवस्थामा भने अलिक गाह्रो हुने अनुभव उनीहरुको छ । फेसबुकले विस्तारै नियम निक्कै कडा बनाउदै गएको छ । पहिले पहिले नाम परिवर्तन गर्न सजिलो थियो । तर, हिजोआज निक्कै गाह्रो भएको लमजुङका विमल पुन वताउँछन् । उनको केही फेसबुक एकाउन्ट नै डिलिट भएको अनुभव उनीसंग छ । फेसवुकले हरेक एकाण्ट खोल्दा बलियो प्रमाण खोज्छ । र, कसैले दायावाया गर्न खोज्यो भने पहिले चेतावनी दिन्छ । पटक पटक यस्तो कार्य दोहोरियो भने अकाण्ट नै डिलेट गरिदिन्छ । त्यसैगरी आफुसंग रकम नहुदा पनि कमाउने अर्को ठाउँ भनेको हाम्रोबजार लगायतका अनलाईन सपिङ साईटहरु हुन् । भाटभटेनी सुपरमार्केटले इसेवासंगको सहकार्यमा अनलाईन पसल सञ्चालन गरिरहेको छ । तर, अरु थुप्रै साईटहरु छन्, जसले जसलाई पनि निःशुल्क एक्सेस दिएर व्यापार बढाउन मद्यत गरिरहेका छन् । कतिपयले भने शुल्क लिएर मात्रै पोस्ट गर्न दिने गर्छन् । हाटबजारले बार्षिक रुपैँया लिएरमात्रै कसैको ब्राण्ड प्रोमोशन गर्न दिन्छ । अमेजोन लगायतका अनलाईन सपिङमा अनुभव लिएर आएका एक जनासंग मिलेर चितवनका रविन अधिकारीले संचालन गरेको हाटबजार डट कम आफैले पनि प्रोडक्ट राख्ने गरेको छ । त्यस्तै मलेसिया एनआरएनका पूर्व अध्यक्ष विश्व राईले विगत चार वर्षदेखि संचालन गरेको एसएनबीसपिङ डट कममा भने निःशुल्क ब्राण्ड पोस्ट तथा प्रोमोशन गर्न मिल्नेछ । तर, यस प्लेट फर्मबाट विक्री भएको सामानको निश्चित प्रतिशत वेबसाईट संचालकले लिने गर्छन ।

सोसियल मिडियाको बढ्दो प्रभाव नेपालमा पनि देखिन थालेको यसबाट पनि स्पष्ट हुन्छ । यसको फाईदा विद्यार्थीदेखि व्यापारीसम्मले लिईरहेका छन् । तर, सोसियल मिडियाको उचित प्रयोगभन्दा बढी दुरुपयोग गरेको पनि पाईन्छ । अपराध अनुसन्धान महाशाखामा सामाजिक सञ्जाल दुरुपयोगको उजुरीको चाङ नै लाग्ने गरेको पाईन्छ ।