धादिङ लगायत देशभरका प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

1396 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- समाचार लेखेकै कारण पत्रकारलाई विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को आधार बनाएर पटकपटक पक्राउ गर्ने क्रम बढ्दै गएपछि उक्त दफा खारेजीका लागि पत्रकारहरु आन्दोलित भएका छन् । उक्त दफाको खारेजी माग गर्दै नेपाल पत्रकार महासघको आव्हानअनुसार बिहीबार धादिङ लगायत देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको छ।
नेपाल पत्रकार महासंघ धादिङको आह्वानमा विहिवार बिहान ९ :३० देखि १० : ३० बजेसम्म प्रशासन कार्यालय अगाडिको दुई वटा गेटमा धादिङका पत्रकारहरुले धर्ना दिएका हुन । धर्ना कार्यक्रममा महासंघका केन्द्रिय सदस्य हरिहरसिंह राठौर,महासंघ ३ नम्बर प्रदेश कमिटिका कोषाध्यक्ष सीताराम अधिकारी,प्रेस संगठनका केन्द्रिय सदस्य केशव अधिकारी, प्रेस युनियनका केन्द्रिय सदस्य डाक्टर मुरारी अधिकारी,  महासंघ जिल्ला शाखाका संस्थापक अध्यक्ष सीताराम वर्मा,जिल्ला शाखाका पदाधिकारी, सदस्यहरुका साथै जिल्लामा कृयाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।
महासंघका जिल्ला शाखामार्फत देशका सबै जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बझाउने कार्यक्रम रहेको छ । पत्रकारलाई विद्युतीय कारोबार ऐनको उक्त दफा अन्तर्गत पटकपटक पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेको भन्दै पत्रकारहरुले देशभर विरोध जनाएका हुन । महासंले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनासर्त रिहाइको माग गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने कार्यक्रमसमेत गरिरहेको छ।

धर्ना कार्यक्रमलाई सम्वोधन गर्दै महासंघका जिल्ला अध्यक्ष नवराज छत्कुलीले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारहरुको हक हित र संविधानल दिएको मौलिकहकको रक्षाका लागि नेपाल पत्रकार महासंघ निरन्तर आन्दोलनमा रहेको र केन्द्रिय समितिले तय गरेका हरेक आन्दोलनका पक्षमा जिल्ला शाखा निरन्तर लागि रहने प्रतिबद्धता जनाउनु भएको थियो ।