ज्वालामुखीमा अबैध वालुवा प्रशोधन केन्द्र रोक्न स्थानीय प्रशासन असफल

1401 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ६ बैशाख – बूढीगण्डकी जलविद्युत आयोजनाले खरिद गरेको जग्गामा अबैध रुपमा बालुवा प्रशोधन केन्द्र रोक्न आयोजना र स्थानीय प्रशासन असफल भएको छ । आयोजना, जिल्ला समन्वय समिति, स्थानीय प्रहरी प्रशासनले अवैध उद्योग रोक्ने प्रयास गरेपनि राजनैतिक पहुँचका आधारमा वालुवा उद्योग सञ्चालनमा रहिरहेको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला स्थित सुरक्षा निकायले ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ बुङ्गकोटघाट र मस्तेखोलामा रहेका एक दर्जन बालुवा प्रशोधन केन्द्र वन्द गराएको भएपनि केही व्यक्तिले अझैपनि अबैध ढंगबाट वालुवा प्रशोधन गरिरहेका छन् । अबैध उद्योगहरु धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका साथै गोरखा जिल्लाको गण्डकी गाउँपालिका,शहिद लखन गाउँपालिका लगायतका बुढीगण्डकी डुवान क्षेत्र भित्र संचालन भईरहेका छन ।
आयोजना मातहत गइसकेको जग्गामा विभिन्न स्थानमा ८ वटा बालुवाखानी सञ्चालन गरेर दैनिक ५ सय टिपर बालुवा बेचबिखन हुंदै आईरहेको थियो । एकमहिना अघि प्रहरी प्रशासनले त्यहाँका वालुवा प्रशोधन केन्द्रमा छापा मारेर सामानहरु नष्ट गरिदिएको थियो । स्थानीय तहका जनप्रतिनिधिकै मिलोमतोमा बुडिगण्डकी जलबिद्युत्त आयोजनबाट मुआव्जा लिईसकेको जमिनमा एक वर्ष अभि देखि अवैध बालुवाखानी सञ्चालन हुँदैआएको थियो ।
‘हामीले स्थानीय प्रशासन र स्थानीय तहहरूलाई आयोजना स्थलबाट बालुवाको अवैध ओसारपसार रोक्न पत्राचार गरेर रोक्न आग्रह गर्दै आएका छौं’ बुढीगण्डकी आयोजनाका संयोजक कृष्णबहादुर कार्कीले बताए ।
एक महिना अघि सशस्त्र प्रहरीका जिल्ला स्थित प्रहरी नायव उपरीक्षक दर्शन गिरीको नेतृत्वमा गएको जनपदसहितको ३ वटै सुरक्षा निकायको टोलीले बालुवा उद्योगमा छापा मारेको थियोे । प्रहरी पुगेलगत्तै फिरफिरेका मजदुर र स्काभेटर, टिपर लगायत उपकरणरका चालकहरू उद्योग छोडेर भागेका थिए । अनुगमनमा गएको सुरक्षा टोलीले ८ वटा प्रशोधन केन्द्रको उपकरण नष्ट गरिदिएपनि एउटा केन्द्रको भने त्यतिकै छाडिदिएको वन्द भएका उद्योगका व्यवसायीहरु बताउँछन ।
गत वर्षसम्म खानीबाट बालुवा लिएर धुने सामान्य फिरफिरे जडान गरेका बालुवा तस्करहरूले यसपालि ठूला आधुनिक लाखौं मूल्य पर्ने वुमर लगायतका उपकरणहरू जडान गरेर संचालन गरेका थिए ।
बालुवा प्रशोधन उद्योग सञ्चालन गर्न कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता गर्दा अन्य स्थानको लालपुर्जा पेस गरेर कम्पनीको अनुमति लिएका बालुवा व्यवसायीहरूले उद्योग र खानी बूढीगण्डकीको नाममा मुआब्जा लिएर नामसारी गरेकै जग्गामा सञ्चालन गर्ने गरेका छन ।
कम्पनी रजिस्ट्रार कार्यालयले बालुवा प्रशोधन तथा धुलाइ गर्ने बालुवा खरिद गर्ने दर्तावाला खानीको लिखित सहमतिबिना नै बालुवा प्रशोधन उद्योग दर्ता गरिएको फेला परेको छ । यसरी संचालित खानी अबैध भएको भन्दै उद्योग वाणिज्य मन्त्रालयको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखाले २०७५ मंसिर १३ मा बालदेवी सप्लायर्स एण्ड सेण्ड प्रोसेसिङ प्लान्ट लगायतका उद्योगलाई जरिवाना गरि कारवाही गरेको थियो । विभागले यहाँका उद्योगहरु उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड क वमोजिम कसुर गरेको भन्दै सोही ऐनको दफा ३९ उपदफा (१) को खण्ड १ घ वमोजिम ५० हजार जरिवाना गराएको थियो ।
राजमार्ग क्षेत्र वरपरका त्रिशूली नदीमा नदीजन्य पदार्थको उत्खनन र बालुवा प्रशोधन गर्दै आएका राजनैतिक पहुँचवाला व्यक्तिहरु समेत रहेको उद्योगीहरुको समूहले बूढीगण्डकी किनारमा अबैध बालुवा प्रशोधन केन्द्र संचालन गर्दै आएका थिए । कानून वमोजिम अबैध देखिएको उक्त व्यवसाय संचालन गर्न व्यवसायीहरुले कम्तिमा १० देखि २० लाख लगानी गरिसकेका छन।