भूकम्प प्रभावितका २० प्रतिशतले घर बनाउन सूरु नै गरेनन्

981 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं १० वैशाख । भूकम्प गएको ९ महिनापछि काम सुरु गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धी हासिल गरेको दावी गरेको छ ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले अनुदान सम्झौंता गरेका ७ लाख ६२ हजार ३ सय ७ घर परिवारमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २ सय ७७ परिवारले घर पुनर्निर्माण सम्पन्न गरेको जनाएको छ । ३० प्रतिशत अर्थात २ लाख ३० हजार ६ सय ५८ परिवार घर पुनर्निर्माणका क्रममा रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । २०७२ सालको विनाशकारी भूकम्पका कारण झन्डै ८ लाख हाराहारी परिवारले घर गुमाएका थिए ।यस्तै भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ५३ विद्यालयमध्ये ५९ प्रतिशत अर्थात ४ हजार ४ सय ७६ बिद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ भने १७ सय ७२ विद्यालय पुनर्निर्माणको क्रममा रहेको छ ।

स्वास्थ्य संस्थातर्फ ५४ प्रतिशत अर्थात ६ सय ४३ को पुनर्निर्माण सम्पन्न भएको १२ प्रतिशत अर्थात १ सय ४५ पुनर्निर्माणको क्रममा रहेको जनाइएको छ । पुरातात्विक सम्पदा २२४ वटा अर्थात ३० प्रतिशत पुनर्निर्माण भएको छ भने २ सय २१ वटा अर्थात २९ प्रतिशत पुनर्निर्माणको क्रममा छ । यस्तै क्षति भएका १३ सय २० गुम्बामध्ये ४ सय २ मर्मतसम्भार र ८ सय ९५ पुनर्निर्माण गर्न ५ अर्ब ८५ करोड खर्च लाग्ने प्राधिकरणले जनाएको छ ।एकसय वर्षभन्दा पुराना र दुई हजार वर्गफिट भन्दा बढी क्षेत्रफल भएका गुम्बा प्राधिकरणमार्फत र एकसय वर्षभन्दा कमका गुम्बा पुनर्निर्माणका लागि प्राधिकरणले स्थानीय तहमार्फत ५० प्रतिशत रकम उपलब्ध गराई स्थानीय गुम्बा विकास समितिमार्फत बेहोर्ने गरी काम गर्ने योजना छ । सुरक्षा निकायका भवनहरु तर्फ ३८ प्रतिशत अर्थात १ सय ४५ को पुनर्निर्माण गरिएको छ भने ७१ वटा भवन निर्मार्णाधीन अवस्थामा रहेको छ । सरकारी भवनतर्फ ६३ प्रतिशतको पुनर्निर्माण भएको छ भने ३५ प्रतिशत पुनर्निर्माणको क्रममा छ ।भूकम्पपछि १ हजार ३९ सम्भावित जोखिमयुक्त बस्ती सर्वे गरेकोमा प्राधिकरणले १८ सय ४८ परिवारलाई सुरक्षित स्थानमा घर बनाउनका लागि २ लाख अनुदान दिएको छ । यस्तै असुरक्षित ठाउँमा रहेका ६ सय २८ परिवारलाई भने जग्गा उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।यस्तै २ हजार २ सय २६ परिवारलाई जग्गा खरिदका लागि दुई लाख रुपियाँ दिन बाँकी रहेको छ । यस्तै एकीककृत बस्ती पुनर्निर्माणतर्फ ३७ वटा प्रस्ताव प्राप्त भएकोमा २९ वटाको योजना स्वीकृत भएको, गैरसरकारी संस्थाले २ वटा वस्ति निर्माण सम्पन्न गरेको र ३ वटा एकीकृत वस्ति पुनर्निर्माण जारी रहेको प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आएको ४ लाख ३७ हजार ६ सय ६२ गुनासोको पुनः सर्वेक्षण १ लाख ३२ हजार ७ सय ३६ लाभग्राही थपिएका छन् । छुट भएका भूकम्प प्रभावितको २०७५ चैत्र १५ बाट २०७६ बैशाख मसान्तभित्र अन्तिम सर्वेक्षण थालिएको पनि प्राधिकरणले बताएको छ । यस्तै प्राधिकरणको टोल फ्रिबाट २७ हजार ७ सय ९७ भूकम्प प्रभावितले जानकारी लिएका छन् । प्राधिकरणले पाँच बर्षको अवधिमा पुनर्निर्माणका लागि कूल ९३८ अर्ब रुपैया आँकलन गरेको थियो । अघिल्लो बर्षसम्म १८६ अर्ब रुपैयाँ खर्च भएको र यो बर्ष १ सय २३ अर्ब रुपैयाँ खर्च हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए । पुनर्निर्माणका लागि सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैर सरकारी संस्थाको तर्फबाट २०० अर्ब रुपैयाँ परिचालन हुने अपेक्षा राखेको भन्दै उनले अब बाँकी पुनर्निर्माणको काम सक्न झन्डै थप ४ सय २९ अर्ब रुपैयाँ आवश्यक पर्ने बताए । यसका लागि हामी अर्थमन्त्रालय र दातृ निकायहरुसँग छलफल भइरहेको उनको भनाई छ ।