काठमाडौंको फोहोर २ महिनापछि बञ्चरेडाँडामा फालिने

1384 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । सहरी विकास मन्त्रालयले १ अर्ब ३४ करोड लागतमा बन्चरेडाँडामा स्यानिटेसन ल्यान्डफिल्ड साइट निर्माण शुरु गरेको छ । धादिङ र नुवाकोटको सीमामा रहेको बन्चरेडाँडाको एक हजार सात सय रोपनी क्षेत्रफलमा साइट निर्माण गर्न लागिएको हो । नुवाकोटको सिसडोलमा रहेको फोहोरमैला व्यवस्थापन केन्द्र भरिएपछि सरकारले फोहोर व्यवस्थापन गर्ने नयाँ स्थानको खोजी गर्दैजाँदा सहरी विकास मन्त्रालयले बन्चरेडाँडालाई उपयुक्त स्थानको रुपमा अघि सारेको थियो ।
लामो समयको अध्ययन, स्थानीय संगको छलफल र सरोकारवालाहरुको राय सुझावका आधारमा मन्त्रालयले बन्चरेडाँडामा साइट निर्माणको तयारी गरेको छ । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईका अन्ुसार अबको दुई महिनापछि बन्चरेडाँडा स्थित निर्माणाधीन साइटमा फोहोर फाल्न सकिने छ । ‘जेठ महिनापछि राजधानीको फोहोर फाल्ने गरी साईट निर्माण गर्ने गरी बैशाख १२ गते बिहीबार केन्द्रको शिलान्यास गरिएको छ ।
व्यवस्थापन केन्द्रको दोस्रो आयोजनामा ड्याम निर्माण गरिनेछ । एक साताभित्रमा ड्याम निर्माणको सम्झौता पनि हुने मन्त्रालयले बताएको छ । करिब एक करोडको लागत अनुमान गरिएको ड्याम ३० मिटर अग्लो हुनेछ । तर, तत्काल भने १५ मिटरको मात्रै बनाइने केन्द्रको परामर्शदाता इन्जिनियर सरोज कायस्थले बताएका छन् । उनका अनुसार १८ मिटरसम्ममा फोहोर फाल्न सकिनेछ । सहरी विकास मन्त्रालयले बन्चरेडाँडामा निर्माण गर्न लागेको स्यानिटेसन ल्यान्डफिल्ड साइटको क्षमता अवधि अधिकतम ५० वर्षसम्मको हुनेछ । काठमाडौं उपत्यकामा उत्पन्न हुने फोहोरलाई यथास्थितिमा नै साइटमा थुपार्ने हो भने जम्मा २० वर्षसम्म मात्रै प्रयोग गर्न सकिने सहरी विकास विभागको अनुमान छ । लगानी बोर्ड र नेपवे कम्पनीबीच फोहोरमैला प्रशोधन केन्द्र स्थापना गर्ने सम्झौता हुँदै छ । यदि प्रशोधन केन्द्र स्थापना भयो भने ८० प्रतिशत फोहोरलाई फर्काउन सकिने र २० प्रतिशत फोहोरलाई मात्रै व्यवस्थापन गरे पुग्ने विश्वास गरिएको छ ।