धादिङको ३ स्थानीय तहमा १५ शैय्याको अस्पताल बन्ने

1311 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बैशाख १६-  पाँच वर्षभित्र देशको सबै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गरिने भएको छ ।
आम नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै निःशुल्क प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले देशको ७ सय ५३ वटै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागेको हो । सरकारले पहिलो चरणमा धादिङ लगायत २ सय ५१ वटा स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागेको हो । धादिङमा गजुरी र सल्यानटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मैदी स्थित मैदी स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर अस्पताल बनाउन लागिएको हो । अस्पताल बन्न लागेका तीनवटा गाउँपालिकामा गजुरी, सल्यानटार र ज्वालामुखी रहेका छन ।
आकस्मिक स्वास्थ्य सेवा कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाई नागरिकको पहुँच स्थापित गर्न १५ शैय्याको अस्पताल निर्माण गर्ने बिषयमा आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा सरकारले प्रतिवद्धता जनाएको थियो । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहिलो चरणमा २ सय ५१ स्थानीय तहबाट निवेदन परेको छ । योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्ष २०७५/०७६ मा सरकारले ७५ करोड बजेट विनियोजन गरेको छ ।