धादिङमा १३० औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाईयो

1358 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धुनिबेशी- धादिङमा १३० औं अन्तराष्ट्रिय श्रमिक दिवस  मनाईएको छ । नेपाल ट्रेड युनियन महासँघ (जिफन्ट) धादिङ र अखिल नेपाल ट्रेड युनियन महासँघ (अन्टुफ) धादिङले बुधवार संयुक्त रुपमा जिल्लाको धुनिबेशी नगरपालिका वडा नम्बर ८ खानीखोलामा श्रमिक दिवस मनाएका हुन् । कार्यक्रममा थांक्रे र धुनिबेसी क्षेत्रका विभिन्न उद्योगका श्रमिक सहितको ¥यालीले खानीखोला बजार परिक्रमा गरेको थियो ।
धुनिबेशी अंग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा जिफन्ट धादिङका सँस्थापक अध्यक्ष तथा श्रमिक दिवस कार्यक्रम परिचालन कमिटीका सँयोजक सुरेश आचार्यको अध्यक्षता रहेको थियो । कार्यक्रममा नेपाल ट्रेड युनियन महासंग जिफन्ट प्रदेश नम्बर ३ का प्रदेश अध्यक्ष रामहरी नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी नेपालले आठ घण्टा काम, आठ घण्टा मनोरन्जन र आठ घण्टा आरामको नारा सहित सुरु भएको मे दिवसले अहिले आएर सार्थकता पाउन लागेको बताउनु भएको थियो । श्रमिकलाई अधिकार दिलाउन ट्रेड युनियनहरु जसरी लागिपरेका छन । अब स्थानिय स्तरमा स्थानिय तह सहितका सरकारले श्रमिकको अधिकारको लागि निती तथा कार्यक्रम ल्याएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको पनि नेपालले बताउनु भयो ।
कार्यक्रमको विशेष अतिथि धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले समाजमा धेरै किसिमको मजदुर रहेको उल्लेख गर्दै आफु पनि एक किसिमको मजदुर रहेको बताउनु भयो । साथै उहाँले श्रमिकले आँफु कार्यरत रहेको स्थानबाटै पेशागत हक हितको सुरक्षाका लागि शशक्त बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका विशेष अतिथी तथा धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले नगरपालिकाले मजदुरको हक हितको लागि काम गरिरहेको बताउदैँ आउने दिनमा पनि नगरपालिकाले कसैको अहितमा काम नगर्ने र सकारात्मक कार्यक्रम तथा नितिहरुलाई कार्यान्वयन गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रमका अध्यक्ष आचार्यले समग्र धादिङको मजदुर आन्दोलनको साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिती र श्रमिक दिवस कार्यक्रमको बारेमा सहभागीहरुलाई प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा कलाकारहरु रुपक परियार, यशोदा विडारी दुर्गा विडारीले आफ्नो प्रस्तुती मार्फत सहभागीहरुलाई मनोरन्जन प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा जिफन्ट ३ नम्बर प्रदेश सचिव अर्जुन अर्याल, धुनिबेशी नगरपालिकाका उपप्रमुख निरु खरेल, जिल्ला समन्वय समिति धादिङका सदस्य उर्मिला रेग्मी, गैह्र सरकारी सँस्था महासँघका केन्द्रिय सदस्य गोकर्ण रुपाखेती, ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख उद्धव पोखरेल, नेकपाका नेता कृष्ण पन्त, दिपक लामिछाने, बासुदेब बास्कोटा, ईन्द्र तामाङ धुनिबेशी नगरपालिका तथा थाक्रे गाउपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न संग सस्थाका प्रतिनिधि, संचारकर्मी, लगायतको उपस्थिति रहेको थियो ।