धादिङमा दुई छोरी बसे आमाको किरियामा

1290 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २२ बैशाख- धादिङमा आफ्नी आमाको मृत्यु पश्चात दुई जना छोरीले हिन्दु संस्कार अनुसार किरिया सुरू गरेका छन । छोरी किरिया बस्नु हुँदैन भन्ने परम्परागत अन्धविश्वासी सामाजिक मान्यतालाई तोड्दै जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ ढोला घर भई हाल नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसी पुछारवजारमा बस्ने दुई छोरीले आफ्नी आमाको किरिया गरिरहेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ धादिङका अध्यक्ष एवम धादिङ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विश्वराम दुवाडीको धर्मपत्नि ४१ वर्षीया भगवती दुवाडीको अर्वुद रोगको कारण यहि बैशाख १७ गते निधन भएपछि उनकी दुई छोरी संगिता र सरला आमाको काजकिरियामा बसेका हुन । छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै संगीता र सरलाले आफ्नी आमाको किरिया बसेपछि अहिले धेरैले यो बिषयलाई निकै चासो दिएका छन ।

समाजमा छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिँदै सदरमुकाम धादिङबेसीको नजिकै दुई छोरीहरु आफ्नी आमाको किरिया बसेपछि अहिले सामाजिक सन्जाल देखि हरेक ठाउँमा उनिहरुको कार्यको चर्चा हुन थालेको छ । ‘धन्यवाद मेरो प्यारी छोरीहरुलाई, आँट र साहस गर्दै समाजमा रहेको अन्धबिस्वासको अन्त्य गरी आफ्नो ममिको मृत्यु पश्चात गरिने सम्पुर्ण कार्यहरु आफै गर्ने निर्णय गरेकोमा, छोरीहरु पनि छोरा भन्दा कम छैनन भन्ने सबै लाई उदाहरण बनोस’ भन्दै संगीता र सरलाका बुबा बिश्वरामले आफ्नी दुई छोरीको यस कदमको प्रसंसा गर्दै कोरामा बसेका छोरीहरुको तस्बिर समेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । सामाजिक सन्जालमा किरिया बसेका छोरीहरुलाई धेरैले प्रशंसा गरेका छन, छोरा र छोरी दुवै बराबरी हुन भन्ने सन्देश दिन उनिहरुको कदम उदहारिणय बनेको धेरैको ठम्याई छ ।

‘छोरासरहको कर्म बुबाआमाले हामी छोरीलाई पनि दिनुभएको छ । त्यसैले छोराहरूले गर्न सक्ने काम हामीहरू पनि गर्न सक्छौँ भन्ने लागेर किरिया बसेका हौँ’ किरियामा रहेका दिदि वहिनीले वताए । समाजले काजकिरियाका लागि छोरानै हुनुपर्छ भन्ने मान्यता राख्ने गरेको छ भने छोरा नहुनेको हकमा घरभित्रकै नजिकको व्यक्तिलाई किरिया गर्न लगाउने गरेको छ । दुवाडी परिवारमा पनि छोरीहरुले आमाको किरिया बस्ने अठोट लिए पछि पारिवारिक सल्लाहमै मृत्यु पश्चातको संस्कार पुरा गर्ने जिम्मेवारी छोरीहरुलाई दिईएको हो । आंफुलाई जन्म दिने आमाको किरिया गर्छु भन्दा छोरीलाई पन्छाउनु हुंदैन, यस्तो काममा छोरा छोरी दुवै समान हुन भन्ने सन्देश प्रवाह गर्न पनि उनिहरुको कदमलाई प्रोत्साहन गरिएको र यो घटना समाजका लागि उदाहरिणय हुने संगीता र सरलाका काका सामाजिक अभियन्ता शालिकराम दुवाडीको भनाई छ ।

संगिता र सरलाले किरिया गर्दा कपाल खौरनेबाहेक अरु सबै विधि पुरा गरिरहेका छन् । संगीता स्नातक तह र सरला कक्षा ११ मा पढ्दै छिन । सरलाको परीक्षा यहि बैशाख २९ गते पर्दछ जुन दिन उनिहरुको आमा बितेको १३ दिन हुन्छ । जिल्लामा छोरीले आमाको किरिया बसेको पहिलो घटना भने होइन । केहि बर्ष अघि जिल्लाकै धुनिबेसी नगरपालिकाको राईगाउँमा पनि छोरीहरुले किरिया गरेका थिए ।