चौध बर्षको वालिकाले छोरा जन्माईन-कक्षा पाँचमा पढ्ने बालक बने बाबु

1538 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । नेपालको प्रचलित कानुनले बीस वर्ष पूरा नभई विवाह गर्न बन्देज लगाएको छ । बालविवाहको त अझ कल्पना पनि गरेको छैन । कानुनले रोकेको भए पनि धादिङ जिल्लाको अतिविकटमा पर्ने रूवीभ्याली गाउँपालिका वडा नम्बर ५, चपाङचेतमा १४ वर्षीया बालिकाले छोराको जन्म दिएकी छन्, बच्चाको बाबु भने भर्खर १३ वर्ष लागेका छन् । बाबुआमा बनेका दुवैमा बालापन नहराउँदै बाबुआमाको जिम्मेवारीमात्रै थपिएको छैन, समाजलाई समेत चुनौती थपिएको छ ।आमा बनेकी बालिकाको शारीरिक विकास समेत राम्रो संग हुन भ्याएको छैन ।

जिल्लाको उत्तरवर्ती रूवीभ्याली गाउँपालिका वडा नम्बर ५, चपाङचेत बस्ने १३ वर्षीय रुपेश (परिवर्तित नाम) बाबु बने पनि उनी शारीरिक र मानसिकमात्रै होइन, कानुनी बन्देजले थप समस्यामा परेका छन् । उनी गाउँकै तिङचेत आधारभूत विद्यालयमा कक्षा पाँचमा पढ्दैछन् ।

विद्यालय पढ्दापढ्दै उनको एक वर्षअघि गाउँकै १४ वर्षीया मीठू (परिवर्तित नाम)सँग प्रेम बसेको थियो । चार कक्षामा पढ्दापढ्दै मीठूले पढ्न छाडिन् । उनीहरुको प्रेम झांगिँदै गयो, जसको कारण पे्रेम सुरू भएको एक वर्षमा रुपेश र मीठू बाबुआमाको जिम्मेवारीमा पुगेका छन् ।

केही महिनाअघिदेखि विद्यालय जान छोडेकी मीठूले दुई महिनाअघि छोरा जन्माएपछि अहिले गाउँदेखि सदरमुकामसम्म निकै चासो र चर्चाको विषय बनेको छ । कलिलै उमेरमा जन्मिएको बच्चा स्वस्थ भए पनि उसको दुवै हातको माइली औँला भने छैन । बाबुआमा बनेका दुवै परिपक्व छैनन्, तर पनि उनीहरुमा ठूलो जिम्मेवारी थपिएको छ ।

आफ्नै स्वास्थ्यको राम्रो ख्याल गर्न नसक्ने उनीहरु बच्चाको बाबुआमा बन्न पुगे पनि उनीहरुको विवाह र बच्चाको जन्मदर्ता गर्न कानुनी चुनौती हुनेछ । जन्मदर्ता बच्चाको नैसर्गिक अधिकार भए पनि बाबुआमा दुवै बिहे गर्ने उमेरभन्दा निकै कम उमेरका भएकाले बाबुआमाको विवाह दर्ता र बच्चाको जन्मदर्ता गर्न कानुनीरुपमै असम्भव रहेको रूवीभ्याली गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धिरज तामाङ बताउनुहुन्छ ।

बच्चाको बाबुआमा बने पनि उनीहरुको विवाहले मान्यता नपाउने भएकाले उनीहरुले विवाह भने गरेका छैनन् । यहाँका तामाङ समुदायमा मन पराएको मान्छेलाई श्रीमती माने पनि फुर्सदमा विवाह गर्ने चलन रहेको छ । चेतनाको अभावले गाउँघरमा अझै पनि किशोरकिशोरीहरु कम उमेरमा नै विवाह गर्ने गर्दछन् ।स्वास्थ्य कार्यालयको एक तथ्याङ्कअनुसार २५ प्रतिशत महिलाले उमेर नपुगी सन्तान जन्माउने गर्दछन् । कम उमेरमा बच्चा पाउँदा आमाको स्वास्थ्यमा नराम्रो असर पर्न सक्दछ ।

कच्चा उमेरमा बच्चा जन्माउँदा उनीहरुले सुत्केरी अवस्थामा भनेजस्तो पौष्टिक आहार पाउँदैनन् । त्यतिमात्र होइन, बच्चाले पर्याप्त मात्रामा आमाको दूध र पौष्टिक आहार नपाउँदा बच्चाको स्वास्थ्यसमेत राम्रो नहुने स्वास्थ्य कार्यालय धादिङका निमित्त प्रमुख विष्णु रिजाल बताउनुहुन्छ ।