गाउँ गाउँमा मनोविमर्शकर्ता तयार पार्दै उत्थान नेपाल

1623 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-मनोसामाजिक समस्यामा परेको व्यक्तिहरुलाई समयमै मनोविमर्श सेवा दिई उनिहरुको अवस्थामा सुधार ल्याउन सघाउ पु¥याउने उद्धेश्यले उत्थान नेपालले धादिङमा आफ्नो सेवा शुरु गरेको छ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसीमा मुख्य कार्यालय रहेको उत्थान नेपालको अध्यक्षमा कृष्णप्रसाद अर्याल,उपाध्यक्षमा पेम्बा घले, सचिवमा सविता अर्याल,कोषाध्यक्षमा संगिता शाह र सदस्यहरुमा मधु परियार, इन्दिरा अर्याल र डोरप्रसाद भण्डारी रहनु भएको छ । त्यसैगरी संस्थाको सल्लाहकारमा चिकित्सा मनोविद अन्जनकुमार ढकाल, डाक्टर साकार पाण्डे,डाक्टर विजयकुमार शाह लगायत रहनु भएको छ ।

यसैक्रममा जनप्रतिनिधि तथा सवास्थ्यकर्मीहरुलाई मनोसामाजिक मनोविमर्श सम्वन्धि आधारभूत जानकारी दिने उद्धेश्यले धादिङको गंगाजमुना गाउँपालिकाको फुलखर्कमा मनोविमर्श सम्वन्धि ३ दिने तालिम सम्पन्न भएको छ ।गंगाजमुना गाउँपालिकाको आयोजनामा बैशाख २६ गते देखि २८ गते सम्म संचालन भएको मनोविमर्श सम्वन्धि ३ दिने अभिमुखिकरण तथा कर्मचारी क्षमता अभिवृद्धि तालिम मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवाको क्षेत्रमा काम गरिरहेको उत्थान नेपालको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।तालिममा २५ जना जनप्रतिनिधि र १० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

तालिममा उत्थान नेपालका सल्लाहकार एवम चिकित्सा मनोविद अन्जनकुमार ढकालले मनोसामाजिक मनोविमर्श भनेको के हो ? पक्षकारसँग कसरी सम्बन्ध विस्तार गर्ने ? सही सुचना संकलन तथा विश्लेषण गर्ने तरिका, कानुुनी प्रक्रियाहरु, पक्षकारहरुसँग प्रश्न कसरी सोध्ने, पक्षकारको मुख्य समस्याहरु के हुन, पक्षकारलाई कसरी अनुभुती दिने विधि, मनको भित्री कुुरा बुझने विधि आदि विषयमा आधारभूत जानकारी गराउनु भएको थियो ।

मानसिक स्वास्थ्यका समस्याका आत्महत्या, महिला हिंसा, पारिवारिक विखण्डनका घटनाहरु बढ्दै गएकाले ती घटनाहरुलाई न्यूनीकरण गर्नका लागि समुदाय तहमा मनोसामाजिक विमर्शकर्ता तयार पार्ने लक्ष्यका साथ उत्थान नेपालले धादिङ जिल्लाको १३ वटै स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालनको तयारी गरिरहेको उत्थान नेपालका कार्यकारी निर्देशक विजय मुडभरीले वताउनु भयो ।गंगाजमुना गाउँपालिकाको फुलखर्कबाट शुरु भएको तालिम जिल्लााको सबै वडा तह सम्म बिस्तार गर्दै जनप्रतिनिधि र स्थानीय स्वास्थ्यकर्मीहरुलाई पछि मनोसामाजिक विमर्शकर्ताका रुपमा विकास गर्ने मुडभरीले जानकारी दिनुभयो ।