धादिङमा पनि मनाईयो २६औं मदन-आश्रित स्मृति दिवस

1499 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । इतिहासको व्याजले होइन समयको मागलाई सम्वोधन गर्दै अघि बढ्न सकेमा मात्रै पार्टी सही ढंगबाट अघि बढ्न सक्ने नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का स्थायी समिति सदस्य एवम नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले वताउनु भएको छ ।
मदन भण्डारीले प्रतिपादन गर्नु भएको जनताको बहुदलिय जनवादको जगमा टेकेर नेपालमा ठुला परिवर्तन सम्भव हुनुको साथै अलग अलग धारका दुई ठुला कम्युनिष्ट पार्टी एकीकरण सम्भव भएको र यो एकीकरणले विश्व कम्युनिष्ट आन्दोलनलाई समेत नयाँ कोणबाट सोच्न वाध्य बनाएको नेता ज्ञवालीको भनाई थियो ।नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको दिन पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन समिति धादिङले धादिङबेसीमा विशेष कार्यक्रम आयोजना गरेर मदन आश्रित स्मृति दिवस तथा पार्टी एकताको बार्षिकोत्सव बिशेष कार्यक्रमलाई सम्वोधन गर्दै नेता ज्ञवालीले सो कुरा बताउनु भएको हो ।

पार्टी एकताले संगठन ठुलो मात्रै भएको छैन, अबको कार्यदिशा पनि फराकिलो वनाएकोले पार्टीका हरेक तहका नेता कार्यकर्ताले पार्टी एकताको मुल मर्मलाई आत्मसाथ गर्दै अघि बढ्नु पर्ने र जनप्रतिनिधिले शासक होएन जनताको सेवकको रुपमा आंफुलाई स्थापित गर्नु पर्नेमा उहाँको सु्झाव थियो । लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्दा भण्डारीले माक्र्सवादमा नै आधारित जबज सिद्धान्त र कार्यक्रम प्रतिपादन गर्नुभएको र शान्तिपूर्ण रुपमा निर्वाचनबाट आफूलाई श्रेष्ठ सावित गरी जनताका पक्षमा सरकार चलाउने जबजको अन्तर्य हो जसमा मानवाधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, बहुमतको सरकार अल्पमतको प्रतिपक्षजस्ता प्रजातन्त्रका मर्महरु रहेको पनि नेता ज्ञवालीले वताउनु भयो । बहुलवादी राजनीतिमा सहभागी भएर आमनिर्वाचनको माध्यमबाट राज्यसत्ता संचालन गरि मुलुकमा परिवर्तन ल्याउन सकिन्छ भन्ने मदन भण्डारीको सैदान्तिक तर्कनै जवजको मुल सिद्धान्त मानिएको छ ।

गत वर्ष पार्टी एकीकरणपछि पार्टीले जबजको सिद्धान्त अङ्गीकार नगरे पनि पार्टी त्यहि मार्गदर्शक सिद्धान्तबाट अघि बढिरहेको र राजनीतिमा उदाउँदै गरेको नयाँ पुस्ताले पनि भण्डारी र जबजको सिद्धान्त आत्मसात गर्नुपर्नेमा नेता ज्ञवालीको जोड थियो ।

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) धादिङका अध्यक्ष भूमीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमलाई नेता ज्ञवालीका साथै नेकपाका प्रस्तावित पोलिटव्युरो सदस्यहरु राजेन्द्रप्रसाद पाण्डे,डाक्टर गंगालाल तुलाधर, केन्द्रिय सदस्य खेमप्रसाद लोहनी, शालिकराम जमकट्टेलका साथै ३ नम्बर प्रदेश कमिटीका सदस्य जानुका सिम्खडा, मनराज भण्डारी, युवा संघ नेपालका केन्द्रिय सचिव रमेश आचार्य, मदन भण्डारी फाउण्डेशनका जिल्ला अध्यक्ष उमेशकुमार थापा, नेपाली काँग्रेसका सभापति रमेश धमला लगायतले सम्वोधन गर्नु भएको थियो ।
कार्यक्रममा संविधान सभा सदस्य गुरुप्रसाद वुर्लाकोटी, धनवहादुर घले, प्रदेश सभा सांसद डाक्टर रामकुमार अधिकारी, नेकपाका नेता रामबहादुर भण्डारीका साथै पार्टीका जिल्ला तहका नेता,जनप्रतिनिधिहरु,जनवर्गिय संगठनका प्रमुखहरु, विभिन्न संघ संगठनका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, प्रहरी उपरिक्षक राजकुमार वैदवार लगायतको आतिथ्य रहेको थियो ।

 विसं २०५० जेठ ३ गते चितवन जिल्लाको दासढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनामा तत्कालिन एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको निधन भएको थियो । पोखरामा आयोजित कास्की जिल्ला अधिवेशनलाई सम्बोधन गरेर चितवन तर्फ जाँदै गर्दा दासढुंगामा भण्डारी र आश्रित दुवैको ‘रहस्यमय’ निधन भएको थियो । दुर्घटना भएको २६ बर्ष वितिसक्दा पनि यस्को सत्य तथ्य वाहिर आउन सकेको छैन ।