त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु (मृतकको नाम सहित)

2226 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

– केशव अधिकारी
धादिङ, ५ जेठ – धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर ६ बन्छेटार स्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा बस खस्दा आठ जनाको ज्यान गएको छ ।

काँकडभिट्टाबाट काठमाण्डौंका लागि छुटेको ना.७. ख ४३८७ नम्बरको रात्रीबस आईतबार विहान ६ वजे तिर दुर्घटनामा परेको थियो । बस सडकबाट ३० मिटर तल त्रिशूली नदीमा खसेको थियो । प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार बसले सडक छेउको फलामेतारबार भत्काएर बल्डयाङ खेल्दै नदीमा खसेको थियो ।

दुर्घटनामा परी इलामको कन्याम निवासी २० वर्षीय विशाल गिरी चन्द्रागीरी नगरपालिका बस्ने ३५ वर्षीया सिता थपलीया र थानकोट निवासी ५१ वर्षीय राजकुमार सुवेदी र धादिङ वेनिघाट रोराङका राजन आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ । यसै गरीदुर्घटनामा परी मृत्यु हुनेहरुमा प्रकाश श्रेष्ठ र शेखर मगरको भने ठेगाना खुल्न सकेको छैन भने अन्य दुई जनाको सनाखत हुन नसकेको पनि प्रहरीले जनाएको छ ।

दुर्घटनामा २९ जना घाइते भएकोमा १४ जनाको अवस्था चिन्ताजनक रहेकोमा उनिहरुलाई उद्धारपछि तत्काल काठमाण्डौं पठाईएको थियो भने बाँकी घाईतेहरुलाईस्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि काठमाडौँ पठाइएको छ । घाइतेहरुको गजुरी, आदामघाट र गल्छीमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार गराईएको थियो । दुर्घटनाको खबर आएलगत्तै शशस्त्र प्रहरी वल, नेपाल प्रहरी, नेपाली सेना, राजमार्ग उद्धारकर्मी, रेडक्रसकर्मी र स्थानीयवासीले घाईतेहरुको उद्धार शुरु गरेका थिए भने धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला प्रहरी प्रमुख एसपि राजकुमार वैदवार लगायतका सुरक्षा निकायका प्रमुखहरु घटनास्थलमा पुगेका थिए । बस अत्याधिक गतिका रहेका कारण उकालोबाटोमा एक्कासी अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।