मुख्यमन्त्री पौडेलबाट गजुरी गाउँपालिका भवन उद्घाटन

1327 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गजुरी -धादिङको गजुरी गाउँपालिकाले आफ्नै कार्यालय भवन निर्माण गरि प्रयोगमा ल्याएको छ । गजुरी वजारमा निर्मित गाउँकार्यपालिकाको भवनको जेठ ६ गते प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नु भयो ।
गाउँपालिकाको भवन उद्घाटन समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले योजना निमार्ण गर्दा ३ वर्षमा सम्पन्न हुने गरी योजना निमार्ण गरी र हरेक नागकिलाई उत्पादनमा सहभागी गराउन सके मात्र सुखी नेपाली सम्वृद्ध नेपाल निमार्णमा सहयोग पुग्ने बताउनु भएको थियो ।

 मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधारमात्र विकास नभएकोले सामाजिक, आर्थिक र सामाजिक रुपान्तरणले मात्र विकास सम्भव हुने बताउनुभएको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा विकास हुने भएकोले साना योजना स्थानीय सरकारले, मध्यम किसिमका योजना प्रदेशले र ठूला योजना सङ्घीय सरकारले गर्ने गरी योजना तयार गर्न आग्रह गर्नुभयो ।गजुरी गाँउपालिकाले अहिले शिक्षा, स्वास्थ्य र खानेपानी लगायतका बिषयमा गरेको लगानी तथा काम प्रशंसनीय रहेको भएपनि ‘हामीले वितरणमुखी विकास पद्धति होइन समानुपातिक विकास गर्ने खालाका योजना निमार्ण गर्न स्थानीय सरकारलाई आग्रह गर्दै आएका छौं’ मुख्य मन्त्री पौडेलले कार्यक्रममा बताउनु भयो ।

स्थानीय सरकारको वजेटले नभ्याए प्रदेश सरकार बजेट व्यवस्था गर्न तयार छ र प्रदेश सरकारको बजेटले नभ्याए संघीय सरकरासंग समन्वय गरेर भएपनि सबैका लागि उपयोगी हुने राम्रो काम सफल बनाउनु पर्नेमा मुख्य मन्त्री पौडेलले जोड दिनु भयो । नेपाली जनताले गएको ७० वर्षसम्म व्यवस्था परिवर्तन गर्ने नाममा धेरै वटा आन्दोलन गरेका छन्, मुलुकमा अहिले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएको छैन लिच्छविकालिन, मल्लकालिन सम्पदा र राणकालिन भौतिक संरचनामै बसेर अहिले हामी नेपाली हुनुमा गर्व गरिरहेका छौं, अव नयाँ पुस्तालाई हामीले केही नयाँ काम गरेर देखाउनु पर्ने बेला आएको मुख्यमन्त्री पौडेलले आग्रह गर्नु भयो ।

गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्रबिक्रम बस्नेतको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष सीता ढुंगानाले स्वागत मन्तव्य राख्दै नागरिकको स्वास्थ्यमा अभिवृद्धि गर्न आठ वटै वडामा स्वास्थ्य सेवा विस्तार गरेको, मातृशिशु मृत्युदर शून्य बनाउन घरमा सुत्केरी शून्य कार्यक्रम सञ्चालन गरी तीन स्थानमा प्रसुती प्रतिक्षा गृह गर्न सञ्चालन गरेको र सवैलाई खानेपानी एकघर एक धारो दुई हजार परिवारमा निमार्ण गरिसकेको जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सांसद भुमी त्रिपाठी र खेम प्रसाद लोहनी साथै ३ नं. प्रदेशका आन्तरिक मामिला मन्त्रि शालिकराम जम्मकटलेको साथै छिमेकी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, विभिन्न राजनैतिक दलका प्रतिनिधि, सरकारी तथा गैर सरकारी संघ संस्था निकाय र कार्यालयका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।

धादिङमा आफ्नै भवन निर्माण गरि उद्घाटन गर्ने गजुरी गाउँपालिका दोश्रो भएको छ । यस अघि जिल्लाको सिद्धलेक गाउँपालिकाले पनि आफ्नै भवन निर्माण गरि मुख्यमन्त्री पौडेलले उद्घाटन गर्नुभएको थियो ।