सरकारबाट पारिश्रमिक पाउने कर्मचारीहरुको तलब बढ्यो

1037 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । सरकारले निजामति कर्मचारी र सरकारबाट पारिश्रमिक पाउने कर्मचारीहरुको तलब वृद्धि गरेको छ ।सरकारी कर्मचारीको सुरु तलबमानमा १८ देखि २० प्रतिशतले वृद्धि गरिएको छ । यो घोषणासँगै निजामति कर्मचारी, प्रहरी, सेना, सरकारी शिक्षक लगायतका सरकारी कर्मचारीहरुको तलब साउन १ गतेदेखि बढ्नेछ ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले राजपत्रअनंकित श्रेणीका कर्मचारीको २० प्रतिशत र राजपत्राकिंत श्रेणीका कर्मचारीको १८ प्रतिशतले तलब बढाइएको घोषणा गर्नु भएको हो ।अर्थमन्त्री खतिवडाले गरेको घोषणाअनुसार निजामतितर्फ नायब सुब्बासम्मका कर्मचारीको तलब २० प्रतिशतले बढ्ने छ भने शाखा अधिकृतभन्दा माथि सचिवसम्मका कर्मचारीको तलब १८ प्रतिशतले बढ्ने छ ।

अर्थमन्त्री खतिवडाले सरकारी कोषबाट तलब खाने निजामति, सेना, प्रहरी, सशस्त्र प्रहरी गरी सबै कर्मचारीको तलब बढाइएको बताउनु भयो । यस अनुसार अब नयाँ तलबमान अनुसार आधार तलब ३ हजार ४४५ रुपैयाँदेखि ९ हजार ८१० रुपैयाँसम्म बढेको छ। अब बढेको तलब र महँगी भत्तासमेत गरेर कार्यालय सहयोगीले २८ हजार ५६४ रुपैयाँ मासिक पाउने छन् भने मूख्य सचिबले ६६ हजार ३१० रुपैयाँ पाउने भएका छन् ।