धादिङमा बर्षेनी रासायनिक मलको अभाव

1575 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,  – मुख्य सिजनमा मात्रै होइन अरु समयमा पनि धादिङमा बर्षेनी रासायनिक मलको अभाव हुने गरेको छ । महिनौ देखि रासायनिक मल खोज्दै हिडेंका किसानहरु मल नपाएकोमा दुखित मात्रै भएका छैनन आक्रोशित पनि बन्न पुगेका छन । वजारमा मल किन्न नपाएको विरोधमा आईतबार जिल्ला सदरमुकाम धादिङबेसी आसपासका किसानले जिल्ला सदरमुकाममा प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरे। मल माग गर्दैै खाली बोरा बोकेर प्रदर्शनीमा उत्रिएका किसानले  कृषि मन्त्रीको राजिनामा माग्दै नारावाजी पनि गर्न भ्याए ।

महिनौं देखि मलको खोजीमा रहेका किसानले आईतबार जिल्ला प्रशासन कार्यालय धादिङ घेराउ गरि सरकारको ध्यानाकर्षण गराएका हुन । सदरमुकाममा मल बिक्री बितरण गर्दै आईरहेको नीलकण्ठ सहकारी संस्थामा मल लिनका लागि आइतबार बिहानैदेखि जम्मा भएका किसानहरुले मल नपाएपछि आक्रोश पोख्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन । सहकारीमा मल नभएको जानकारी पाएपछि किसानले सजिलो सँग मल किन्न पाउनु पर्ने माग राख्दै उनिहरुले प्रशासनको मुल ढोकामा पुगेर प्रदर्शनी गर्दै नारावाजी गरेका थिए ।

बजारमा फाट्टफुट्ट रुपमा मल आउने गरेपनि किसानहरुलाइ आवश्यक पर्ने जति मल नआईदिंदा किसानहरु मर्कामा परेका हुन । धादिङवेशी आसपासका किसानहरुलाइ रासायनिक मल वितरण गर्दे आएको नीलकण्ठ सहकारी सस्थाले यो बर्ष मल ल्याउन नसकेको जनाएको छ । विगतमा जिल्ला कृषि विकास कार्यालयले जिल्लामा मल अभाव भएपछि सरोकारवाला निकाय सँग समन्य गरेर मल उपलब्ध गराउन पहल गर्ने गरेकोमा अहिले त्यो कार्यालय हटेर कृषि ज्ञान केन्द्र भएपछि समन्वयको समेत अभाव भएको किसानहरुको गुनासो छ ।

यतिबेला खेतमा लगाइएको चैतेधान र मकै तथा वैशाख पहिलो सातादेखि पाखो बारीमा छरेको मकैमा रासायनिक मल हालेर गोड्ने सिजन हो तर किसानले चाहेको बेलामा सहकारीले कहिल्यै पनि सहज तरिकाले मल उपलब्ध गराउन सक्दैन। किसानको सहजताका लागि सरकारले गाउँगाउँका कृषि सहकारीबाट मल बिक्रीवितरण गर्ने निति पनि बनाएको छ तर किसानलाई आवश्यकपर्ने बेलामा गाउँका सहकारीले समेत मल ल्याउन सक्दैन।कृषि ज्ञान केन्द्र धादिङको तथ्यांकअनुसार धादिङ जिल्लाभरका लागि १ वर्षमा १२ हजार मेट्रिक टन मल आवश्यक पर्छ। तर कृषि सामग्री कम्पनी लिमिटेडले विभिन्न सहकारीमार्फत मुस्किलले ४ हजार मेट्रिक टन मल मात्रै उपलब्ध गराउँदै आएको छ। बाँकी आवश्यक मल बजारका व्यवसायीले चोर बाटोबाट ल्याउँदै महँगोमा किसानलाई बिक्री गर्ने गरेको गुनासो किसानबाटै आउने गरेको छ।

बजारमा मलको अभाव भएपछि लगाएको खेतबारीमा लगाएको खाद्यन्न तथा तरकारी बालीमा मल हाल्न नपाएको नीलकण्ठ नगरपालिका वडा नं ७ का किसान कृष्ण पोखरेल वताउँछन । खेतमा लगाइएको धान र बारीमा लगाईएको मकैलाई मल हाल्ने बेला भईसकेको छ, तर वजारमा महिनौ दिन देखि मल नपाईएको पोखरेलले वताए । त्यसो त यो बेला धादिङमा बर्षेनी मलको हाहाकार हुने गर्दछ ।

धादिङका किसानले आईतबार जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै मलको माग गरेपछि धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले किसानले भोग्नु परेको समस्याको समाधानका लागि साल्ट्र ट्रेडिङ कर्पोरेशनलाई तत्काल मल पठाइदिन अनुरोध गरिएको जनाएका छन् ।

जिल्ला सदरमुकाममा मात्रै होइन अन्य स्थानमा पनि प्रयाप्त मात्रामा रासायनिक मलको अभाव भएको छ । रासायनिक मलको आपूर्ती र बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले किसानको माग अनुसारको मल पठाउन नसकेको बिक्रेताहरु बताउँछन । विशेषत धादिङका धान,मकै, केरा र तरकारी खेती गर्ने किसानहरुले युरीया मलको प्रयोग गर्ने गर्दछन्। किसानले हरेक वर्ष झेल्दै आएको मल अभावको समस्या यो वर्ष पनि झेल्नु परेको हो ।