धुवाँकोटको अम्बोटेमा बाबुले खुर्पाले टाउकोमा हान्दा छोरी घाईते

1523 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ २१ जेठ –  धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ मा पर्ने धुवाँकोटको अम्बोटे टोलमा खुर्पा प्रहार गरी बाबुले आफ्नै छोरीको ज्यान लिने कोशिस गरेका छन् । छोरीलाई खुर्पा प्रहार गर्ने बुबा बलराम वस्तीलाई  प्रहरीले सोमबार रातीनै नियन्त्रणमा लिएको छ ।

धुंवाकोट अम्बोटे घर भई मकवानपुरको हेटौंडामा बस्दै आईरहेकी १४ बर्षिया सुष्मिता वस्तीलाई सोमबार सांझ आफ्नै बाबुले टाउकोमा खुर्पा प्रहार गरी गम्भिर घाईते वनाएका हुन । खुर्पा प्रहारबाट टाउकोमा गहिरो चोट लागेर गम्भिर घाईते भएकी सुष्मिताको काठमाण्डौंको महाराजगन्ज स्थित शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

सुष्मिता आफ्नी आमाको साथमा सोमबार सांझ साँढे पाँच वजे तिर धुंवाकोटको अम्बोटे स्थित घर पुगेकी थिइन । आमा छोरी घर पुग्दा बलराम घांस काट्न गएकाले सांझ ७.३० वजे तिरमात्रै घर आईपुगेका थिए । घाँसको भारी विसाउन नभ्याउँदै बलरामको श्रीमती सरिता र छोरी संग वादविवाद शु्रु भएको र सोहीक्रममा तथानाम गाली गर्दै आक्रमण गरेका थिए । सरिता भागेपछि आँगनको छेउमा उभिएकी सुष्मितालाई त्यहाँबाट धकेलेर कान्ला मुनी लडाएपछि  बलरामले दौडदै गएर हातमा वोकेको हँसियाले टाउकोमा प्रहार गरेको घटनाका प्रत्यक्षदर्शीहरुले वताएका छन ।

हेटौंडामा बसेर मजदुरी गर्दै छोरीलाई पढाउँदै आएकी कान्छी श्रीमती सरिता लाई नागरिकता बनाईदिने र छोरीको जन्मदर्ता गरिदिने भन्दै केही दिन अघि बलरामले फोन गरेर आंफु र छोरीलाई घर वोलाएको सरिताले बताईन । श्रीमनको कुरा विश्वास गरेर घर आउँदा आंफु र छोरीको ज्यान लिने कोशिश भएको र छोरीलाई गम्भिर घाईते वनाएको भन्दै उनले दोषि माथि कारवाहीको माग गरेकी छिन ।
घरमा श्रीमती र छोरा छोरी हुंदा हुँदै दोश्रो विहे गरेर परिवारका सदस्यलाई कुनै जानकारी नदिई हेटौडामा बस्दै आएका बलरामले गाउँ छाडेको दश बर्ष पछि गत दशैंमा श्रीमती सरिता र छोरी सुष्मितालाई पनि लिएर घर फर्किएका थिए । त्यसपछि उनि घरमै बसेका थिए भने श्रीमती र छोरी हेटौंडा फर्किएको सरिता बताउँछिन । बलरामको जेठी श्रीमतीको दश बर्ष अघिनै मृत्यु भईसकेको छ भने जेठी पट्टि दुई छोरा र एक छोरी रहेका छन् ।

छोरीलाई खुर्पा प्रहार गर्ने बुबा बलराम वस्तीलाई धुंवाकोट प्रहरीले सोमबार रातीनै नियन्त्रणमा लिएको थियो । बलरामलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको धादिङका प्रहरी उपरिक्षक राजकुमार बैदवारले जानकारी दिए । घटना पछि गाउँलेहरुले घाईते सुष्मितालाई रातीनै धुंवाकोट स्थित स्वास्थ्य चौकीमा लगेकोमा त्यहाँबाट तत्काल जिल्ला अस्पताल पठाईएको थियो । जिल्ला अस्पतालले पनि घाईतेको टाउकोमा गहिरो चोट लागेको र रगत धेरै वगिसकेको भन्दै थप उपचारका लागि काठमाण्डौं लैजान सल्लाह दिएपछि आंफुहरुले घाईतेलाई रातीनै शिक्षण अस्पताल पु¥याएको स्थानीय प्रकाश वस्तीले वताए ।