सुत्केरी हुन आउन निमन्त्रणा

712 पटक पढिएको

सम्पादक: Dhadingnews.com

पीडीएफ

धादिङ,  /‘सुरक्षित सुत्केरी गराउन स्वास्थ्य संस्थामा आउनुस् है’ भन्दै स्वास्थ्य कार्यकर्ताले निमन्त्रणापत्र हातमा थमाइदिँदा गर्भवती जुना लम्साल लाजले रातोपिरो भइन् । परिवारका सदस्यअगाडि स्वास्थ्य कार्यकर्ताले सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन आग्रह गर्दै उनलाई निमन्त्रणापत्र दिएका थिए ।

धादिङको मुरलीभन्ज्याङ–५ पौवा निवासी २० वर्षीया जुना लम्साल गर्भवती छिन् । जुना मात्र होइन, जिल्लाको सो गाविसमा हरेक गर्भवती महिलाको घर–घरमा पुगेर अहिले स्वास्थ्य कार्यकर्ताले निमन्त्रणापत्र वितरण गर्दै आइरहेका छन् । पत्र पाइसकेपछि गर्भवती महिला पनि सुत्केरी हुन स्वास्थ्य संस्थामा जाने गरेका छन् ।

कार्ड वितरण गर्दा नै गर्भवतीका साथै अभिभावकलाई पनि सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्थामा लैजाने प्रतिबद्धता गराउँदै हस्ताक्षर गराइने गरिएको छ । निमन्त्रणापत्रमा ‘तपाईं यो महिनाको यति गते (चिकित्सकले तोकेको दिन) सुत्केरी हुने अनुमान छ, यसमा ७ दिन अघिपछि पनि हुन सक्छ, अलिअलि व्यथा लाग्न थालेपछि स्वास्थ्य संस्थामा आउनुहोस्’ भनेर लेखिएको हुन्छ ।

अहिले मुरलीभन्ज्याङ गाविसमा जीवन सुरक्षा कार्यक्रम निकै प्रभावकारी बन्दै गएको छ । शान्ति नेपालले सो गाविसमा गत वर्षबाट सञ्चालन गर्दै आएको जीवन सुरक्षा कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई सुरक्षित सुत्केरीका लागि नजिकको स्वास्थ्य संस्थामा जान आग्रह गर्दै निमन्त्रणापत्र वितरण गर्दै आइरहेको छ ।

घरमै सुत्केरी गराउँदा आमा तथा बच्चाको स्वास्थ्यमा धेरै समस्या आउन सक्ने र बढी रक्तश्राव भई आमा तथा नवशिशुको मृत्युसमेत हुन सक्ने भन्दै जीवन सुरक्षा कार्यक्रम सञ्चालन गरिएको शान्ति नेपालका कार्यक्रम संयोजक पिआर शर्माले बताए । संस्थाले जिल्लाका १० वटा गाविसमा सो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

त्यसो त जीवन सुरक्षा कार्यक्रम स्थानीय समुदायमा धेरै प्रभावकारी बन्दै गएको शान्ति नेपालका स्वास्थ्य कार्यकर्ता भवानी सिलवालको अनुभव छ । गर्भवती हुँदादेखि नै स्वास्थ्यका साथसाथै खानपान विधिबारे छलफल गर्ने गरिएपछि महिलामा परिवर्तन आएको सिलवालले बताइन् ।

त्यति मात्र होइन, गाविसमा सञ्चालन भइरहेको जीवन सुरक्षा कार्यक्रमबाट महिलामा स्वास्थ्य संस्थाप्रतिको आकर्षण बढेको मुरलीभन्ज्याङ स्वास्थ्य चौकीका प्रमुख कृष्णबहादुर पौडेलले बताए । कार्यक्रमकै प्रभावले पछिल्लो समय गाविसमा मातृ तथा नवजात शिशु मृत्युदरमा समेत कमी आएको उनले दाबी गरे ।

(नयाँ पत्रिका दैनिक १० साउन )