गल्छी बोलेरो दुर्घटना-UPDATE- ५ जनाको मृत्यु, १२ घाइते

1335 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ,६ असार –  शुक्रवार गल्छी गाउँपालिका वडा नम्बर ६ बाँझागाउँमा भएको बोलेरो दुर्घटनामा परि पाँच जनाको ज्यान गएको छ । १२ जना घाईते भएका छन् । घाईते हुनेमा ७ महिला र ५ पुरुष रहेका छन् ।


शुक्रवार मध्यान्ह धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बाँजागाउँमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको हो । गल्छी गाउँपालिकाको कार्कीडाँडाबाट कच्ची सडक हुंदै बैरेनीवजार तर्फ आईरहेको बा १८ च ९४०८ नम्बर बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा बाटोमा लैजाँदै गर्दा ज्यान गएको हो । गाउँबाट तरकारी लिएर वजार आउँदै गरेको सो जिप घुम्तिमा एक्कासी अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको थियो । दुर्घटना पछि गल्छी गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का वासिन्दा स्तव्ध भएका छन ।

घटनास्थलमै मृत्यु हुनेहरुमा गल्छी गाउँपालिका ४ का ३८ वर्षीय राजु रम्तेल, सोही ठाउँका ३२ वर्षीय सेतु मिजार, गल्छी ६ की ३० वर्षीया कान्छी भुजेल र सोही ठाउँकी २५ वर्षीय नानु तामाङ रहेकी छन । त्यस्तै गल्छी गापा– ४ बस्ने बर्ष २१ की सबिता प्याकुरेलको उपचारको लागी काठमाण्डौतर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । उनिहरु सबैजनाको शव अहिले प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काले वताउनु भयो ।

दुर्घटनामा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई स्थानीयले उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएका थिए । स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचार पछि सबै घाईतेहरुलाई थप उपचारको लागि काठमाडौं ट्रमा सेन्टर र ग्राण्डी अस्पताल पठाईएको थियो । दुर्घटनामा परि गल्छी गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष ६२ को विष्णु अधिकारी,बर्ष ३५ की सुनिता मिजार,बर्ष २३ की सुजिता अधिकारी, बर्ष १५ को सन्तोष रम्तेल,बर्ष ७० को कृष्ण सार्की,बर्ष २८ की रेनु भण्डारी, बर्ष ३५ को राम कृष्ण प्याकुरेल र नाम थर नखुलेका अन्य दुईजनाको समेत अबस्था गम्भिर रहेको र उनिहरु सबैको उपचार ट्रमा सेन्टरमा भईरहेको पनि प्रहरी नायव उपरिक्षक खड्काले जानकारी दिनुभयो ।

यसै गरी गल्छी गाउँपालिका वडा नम्बर ५ का ३० बर्षिय अर्जुन अधिकारी, ६ नम्बर वडाका २६ बर्षिया शान्ति तामाङ वडा नम्बर ३ को २६ बर्षिया शुष्मा तामाङ र वडा नम्बर ४ कै शान्तिमाया रम्तेल तामाङ पनि घाईते भएका छन । उनिहरुको ग्राण्डि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले धादिङ न्यूजलाई बताउनु भयो ।