तुईन बाजे शुक्रवहादुर लाई जिग्रि र पाँडेले बुझाए नयाँ घर

2378 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ :   तुईन वाजेको नामले चिनिएका धादिङ चरौंदीका शुक्रबहादुर चेपाङले नयाँ घर पाएका छन् । चर्चित हाँस्यकलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को प्रमुख आतिथ्यतामा नयाँ घर हस्तान्तरण गरिएको हो ।

आठ दशक उमेर पार गरिसकेका शुक्रबहादुर २० वर्ष देखि गोरखाको घ्यालचोकबाट धादिङको चरौंदी जोड्ने   त्रिशूली नदी माथिको तुईन  तानेर जिविकोपार्जन गर्दै आईरहेका छन । असार ८ गते आइतबार एक कार्यक्रमका बीच भद्रगोल हांस्य सिरियलका कलाकारहरु  जिग्री र पाँडे , ‘सिते बा’, व्यवसायी हरि काफ्ले, नागरिक समूहका पदाधिकारीको उपस्थितीमा धादिङको वेनिघाट रोराङ गाउपालिका वडा नं ७ मा निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो ।

सञ्चारकर्मी श्यामहरि शिवभक्तिको संयोजनमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सहयोगमा उक्त घर निर्माण गरिएको हो । झण्डै ६ महिना अघि उनले तुईन चलाउने बाजेको भिडियो फिल्मीकुरा टिभी युटुव च्यानलमा प्रसारण गरेका थिए ।फिल्मीकुरा डट कम युट्युव च्यानलका संचालक समेत रहेका पत्रकार श्यामहरि शिवभक्तिले ६ महिना अघि शुक्रवहादुरको कारुणिक दिन चर्याका वारेमा समाचार लेखेका थिए । उनकै समाचार हेरेर देश विदेशमा रहेका नेपालीहरुले सहयोग जुटाएर चेपाङको लागि घर वनाउन जग्गा खरिद तथा घर निर्माण कार्य सम्पन्न भएको हो । घर हस्तान्तरण कार्यक्रममा पत्रकार शिवभक्तिलाई पनि सम्मान गरिएको थियो । आर्थिक अभावका कारण ८० बर्षको उमेरमा दिनहुं तुइन तानेर आफ्ना अशक्त छोराको समेत लालन पालन गर्दै आईरहेको शुक्रवहादुर लाई त्रिशूली नदी किनारबाट पञ्चैवाजा वजाएर नाच गान गर्दै गाउँले र सहयोगी दाताहरुले नयाँ वनाईएको घर सम्म पु¥याएका थिए ।

जिग्री र पाँडेले शुक्रबहादुरको हातको नङ काट्दै नयाँ घरको चाबी दिएर घर हस्तान्तरण गरेका छन् । समारोहलाई सम्बोधन गर्दै कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले भने, ‘शुक्रबहादुरको लागि यति राम्रो चिटिक्क परेको घर बन्नु खुसीको कुरा हो । अबदेखि त्रिशुली नदी किनारमा सुत्नुपर्ने दिन गए । तपाईले घर र आफूलाई सधै सफा सुग्गर राख्नुहोला । छिमेकी दाजुभाईले शुक्रबहादुरको हेरविचार गरेर सहयोग गरिदिनुहोला ‘भन्दै गाउँले र छर छिमेकीलाई आग्रह गरेका थिए ।

शुक्रवहादुरलाई आफ्नै नयाँ घरमा राख्न पाउँदा   एउटा पूण्यको काममा सहभागी हुन पाएको भन्दै जिग्रिले निकै खुसी व्यक्त गरेका छन् । शुक्रबहादुरले २० वर्षदेखि तुईन तारेर धेरै व्यक्तिलाई वारपार गराउनु पनि एउटा सामाजिक सेवा नै भएको जिग्रीको भनाई थियो । उनले सञ्चारकर्मी श्यामहरिलाई आगामि दिनमा पत्रकारितासँगै सामाजिक कार्यलाई पनि निरन्तरता दिन आग्रह गरेका छन् ।

शुक्रवहादुरको लागि नयाँघर निर्माणका लागि वेलायतमा बस्ने चार दिदि वहिनीहरु गिता,शारदा, कौसिला र सम्सिला गुरुङ, धादिङबेसी बिचवजार घर भई अष्ट्रेलियामा बसोवास गरिरहेका कुमार अधिकारीका साथै विभिन्न देशमा रहेका नेपाली दाजुभाई दिदि वहिनीको अथकसहयोगमा अभियान सफल भएको र नेपाली नेपालीको मन मिलेर शुक्रवहादुर चेपाङको घर ठडिएको अभियन्ता श्यामहरि शिवभक्तिले वताए ।

नयाँ घरमा बस्दै निकै खुसी भएर  शुक्रबहादुरले भने, ‘घर थिएन, जग्गा थिएन । अब त जग्गा पनि पाएँ, घर पनि पाएँ ।यो उमेरमा अब तुईन तान्न जाँदिन ।’ शुक्रबहादुर सँग एक छोरा बस्छन् । शारिरीक रुपमा अशक्त उनका छोरा बोल्न र सुन्न सक्दैनन् । सोही छोरा र आफ्नो जीविकोपार्जनको लागि उनले त्रिशूली नदीमा तुईन तुईन तान्ने काम गर्दै आएका थिए । चरोंदी स्थित सहकारीको तरकारी संकलन केन्द्रमा  तरकारी ल्याउनका लागि गोर्खा जिल्लाका किसानहरुले सो तुईनको प्रयोग गर्दै आईरहेका थिए । तुइनको नजिकै दुईवटा झोलुङ्गे पुलको निर्माण भएर प्रयोगमा आउँदा पनि गोरर्खा जिल्लाको घ्यालचोकका किसानले तुईन हटाउन नदिंदा शुक्रवहादुरले सोही तुईनबाट आउने तरकारी तानेर जिवन निर्वाह गर्दै आईरहेका थिए ।