नागढुंगा मुग्लिन सडक साउन पछि विस्तारको काम अघि बढ्ने

1925 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- सवारी चाप अनुसार सडक साँघुरो हुँदा दुर्घटनाको संख्या बढ्नुका साथै सवारी जाम हुनेक्रम पनि बढ्दै गईरहेको नागढुङ्गा—मुग्लिङ सडक विस्तार गरिने भएको छ । आगामी आर्थिक वर्षदेखि सडक विस्तारको काम अघि बढ्ने जनाईएको छ । विस्तार हुन लागेको सडक १० किमि ४ लेन र २५ किमि नयाँ लेनको निर्माण गरिने सडक विभागले जनाएको छ । बजार क्षेत्र आसपासमा ४ लेन र उकालो ओरालोमा अहिले भएको भन्दा १ लेन फराकिलो बनाइने छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी आव २०७६/७७ देखि आयोजना अघि बढाइने सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिनुभयो।

एक वर्षमा खरिद प्रक्रिया लगायतका कागजी प्रक्रिया पूरा गर्ने र अर्को वर्षदेखि सडक विस्तार गरिने सापकोटाले बताउनु भयो । आयोजनाको कुल अनुमानित लागत २२ अर्ब रुपैयाँ रहेको छ । विश्व बैङ्कको ऋण सहयोगमा सडक विस्तार हुन लागेको हो । नयाँ सडक निर्माण, १ र ४ लेनको सडक, पुल विस्तार र नयाँ पुल निर्माण गर्न उक्त लागत अनुमान गरिएकोे विभागले जनाएको छ ।

आगामी आवमा सडक र पुल निर्माणका लागि टेन्डर गरिने विभागले जनाएको छ । अन्य अध्ययन र मूल्याङ्कन गर्ने काम एक वर्षभित्र सक्ने विभागको तयारी छ । अर्को वर्ष २०७७/०७८ भित्र सडक विस्तार गर्ने लक्ष्य लिइएको छ ।

नौबिसे–मुग्लिङ खण्डमा पर्ने अहिलेको सबै पुललाई चौडा गरिने भएको छ । अहिले त्यो खण्डमा २४ ओटा मोटरेबल पुल छन । पुलका लागि मूल्याङ्कनको अन्तिम चरणमा रहेको सडक विभाग पुल महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले बताउनु भयो । अधिकांश मोटरेबल पुललाई चौडा गरिनेछ । केही पुललाई भने नयाँ रेखाङ्कन गरी निर्माण गरिने थापाले जानकारी दिनुभयो ।

नागढुङ्गा—मुग्लिन सडकको लम्बाइ ९५ किमि छ । सडक विस्तार र पुल अध्ययनसमेत भइसकेको छ ।