गजुरीबाट २२५ किलो गाँजाको धुलो सहित एकजना पक्राउ

819 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २६ असार – धादिङको गजुरी गाउँपालिका वडा नं २ डुँडेठाँटीबाट प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजाको धुलो सहित एक जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नं १ का खाम भन्ज्याङका ४१ वर्षीय वीरबहादुर लामा पक्राउ परेका छन् । लामाको साथमा रहेका अरु व्यक्ति फरार भएकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

रातीको समयम पारेर अवैधरूपमा गाँजा ओसारपसार हुंदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ शंकास्पद क्षेत्रमा इलाका प्रहरी कार्यालय गजुरीबाट परिचालन भएको प्रहरी टोलीले असार २६ गते विहान २.३० वजे तिर २२५ किलोग्राम गाँजाको धुलो बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । लामाको साथबाट आठ वटा बोरामा टेपले बेरेको अवस्थामा रहेको २२० किलोग्राम चरेश बनाउने गाँजाको धुलो, ५ किलो ग्राम गाँजा, सिम कार्ड सहितको मोवाईल १ थान र गाँजा बोक्न प्रयोग गरिएको झोला एक थान बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

लामालाई प्रतिबन्धित लागुऔषध ओसारपसारअन्तर्गत मुद्दा लगाउन इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय चलान गरिएको छ । पक्राउ गरिएका लामालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा लिएर अनुसन्धान थालेको छ । पछिल्लो समय धादिङको राजमार्ग क्षेत्रमा बिशेष अपरेशन सञ्चालन गरी प्रहरीले ठूलो परिणामको गाँजा र चरेश बरामद गर्दै आईरहेको छ ।