आग्रा खोलामा बाढी ,एक सय भन्दा बढी परिवार जोखिममा

1443 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महादेबबेसी- अबिरल बर्षाका कारण आग्रा खोलामा बाढी आउने क्रम बढ्दै गएपछि धादिङको थांक्रे गाउँपालिकामा पर्ने आग्रा र महेशखोला किनारका मजदुर बस्ती संकटमा परेको छ ।आग्रा खोला किनारमा देशका विभिन्न जिल्लाबाट आई मजदुरी गरि जिवन निर्वाह गरिरहेका विपन्न परिवारको वसोबास रहेको छ ।


खोलामा ढुंगा फुटाउने काम गर्दै आईरहेका सयौं मजदुर परिवार बर्षौदेखि महेश र आग्रा खोला किनारमा अस्थायी टहरो बनाई बसोबास गर्दै आईरहेका छन । बिशेष गरि महादेबबेसीको पक्कि पुल मुनी ३० ,जालजुलेमा १२, लिति दोभानमा २० र समनटारको वगरमा २० घर परिवार मजदुरहरु बस्दै आईरहेका छन । आग्रा खोलामा मात्रै होइन महेशखोला किनारमा रहेको महादेबबेसी वजार भन्दा ठिक तल रहेको महेशखोला किनारको सुन्दरबस्तीका २० परिवार पनि बाढीको जोखिममा परेका छन ।


बर्षौ देखि खोला किनारमा मजदुर परिवारको बस्ती रहेको भएपनि धेरै बर्ष पछि यस पटक भने खोलामा पानीको सतह निकै बढेर छेउ छाउको बस्तीनै जोखिममा पर्ने अवस्था देखिएपछि खोला किनारमा बस्दै आईरहेकाहरु संकटमा परेका हुन । खोलामा बाढी आउनेक्रम बढ्दै जान थालेपछि शुक्रवारनै थांक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले कर्मचारी र जनप्रतिनिधि परिचालन गरी आग्रा खोला छेउमा बस्दै आईरहेकाहरुलाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेका थिए ।


शनिवार पनि आग्राखोलामा पानीको सतह नघटेकोले स्थानीयलाई खोला छेउमा नजान आग्रह गरिएको थांक्रे गाउँपालिकाका प्रवक्ता कुमार विश्वकर्माले वताउनु भयो । शुक्रवार सांझ थांक्रे गाउँपालिका वडा नम्बर ३ निगालेखोलाले बगाउँदा हराईरहेका मल्डुङका गोकुल गिरी अझै फेला परेका छैनन । शुक्रवार सांझ पख खेतबाट घर फर्कन लाग्दा गिरीलाई निगाले खोलाले वगाएर वेपत्ता पारेको हो । गिरी संगै वगेका बद्री भुजेल भने खोलाबाट बाहिर निस्कन सकि ज्यान बचाउन सफल भएका थिए ।


‘महादेबबेसी पुल देखि आग्रा खोलाको किनारमा बसोवास गर्ने सयौं मजदुर परिवार र स्थानीयलाई हामीले सचेत गराएका छौं । तत्काल खोला छेउ नफर्कन आग्रह समेत गरेका छौं । मौसममा सुधार नआए सम्म सुरक्षित स्थानमा गएर बस्न भनिएको छ ।’ थांक्रे गाउँपालिका प्रवक्ता विश्वकर्माले जानकारी दिनु भयो ।