३ नम्बर प्रदेश सरकारले २० स्थानीय तहमा पक्कि सडक बनाउँदै

2029 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–३ नं प्रदेश सरकारले धादिङ जिल्लाका ३ वटा सहित प्रदेशभरीका २० वटा स्थानीय तहको केन्द्रसम्म पुग्ने पक्की सडक निर्माण गर्ने भएको छ ।

मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम अन्तर्गत चालू आर्थिक बर्ष २०७६÷७७ मा कार्यान्वयन हुने गरी ३ नं प्रदेश सरकारले १३ जिल्लाका २० वटा स्थानीय तहको केन्द्रसम्म पुग्ने गरी सडक निर्माण तथा स्तरोन्नति गर्न लागेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा २० वटा स्थानीय तहका लागि बजेटको व्यवस्था गरिएको छ । राजमार्गबाट स्थानीय तहको केन्द्र पुग्ने बाटो निर्माणका लागि प्रदेश सरकारले प्राथमिकताका साथ योजना अघि सारेको हो ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार धादिङका ३, मकवानपुरका ३, सिन्धुपाल्चोकका ३, काभ्रेपलान्चोकका २, नुवाकोटका २, दोलखाका २, रामेछापका २ वटा स्थानीय तहको केन्द्र सम्म सडकको व्यवस्था गर्नका लागि बजेट बिनियोजन भएको छ । रसुवा, ललितपुर र सिन्धुलीका १÷१ वटा स्थानीय तहमा चालू आर्थिक बर्षमा सडक सञ्जाल विस्तार तथा स्तरोन्नतिका लागि बजेट बिनियोजन भएको मन्त्रालयले जनाएको छ ।

सडक निर्माणका लागि धादिङको रुबिभ्यालीका लागि ४ करोड, नीलकण्ठ नगरपालिकाको पाल्पाभन्ज्याङ हुंदै ज्वालामुखी गाउँपालिका जोडिने सडकका लागि २ करोड र सिद्धलेक गाउँपालिका पुग्ने सडक स्तरोन्नतिका लागि १ करोड रुपियाँ विनियोजन गरिएको छ ।

काभ्रेपलान्चोकको महाभारत गाउँपालिका पुग्ने सडकको नयाँ ट्रयाक खोल्ने कार्यका लागि ४ करोड र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पुग्ने ज्यामिरे सीतादेवी बाहुन डोडेनी सडकको नयाँ ट्रयाकका लागि १ करोड रुपियाँ बिनियोजित छ ।

स्तरोन्नतिका लागि छुट्याइएका १७ वटा स्थानीय तहको केन्द्र पुग्ने सडक योजनाहरुमा मकवानपुरको कैलाश गाउँपालिका केन्द्र कालिकाटार पुग्ने चुनियाँ–नामटार सडकका लागि ४ करोड, राक्सिराङ गाउँपालिका केन्द्र चैनपुर पुग्ने मनहरी–चैनपुर सडकका लागि २ करोड र हेटौँडा उपमहानगरपालिका ५ बाट मकवानपुरगढीको केन्द्र मक्रान्चुली पुग्ने सडकका लागि १ करोड बिनियोजन भएको छ ।

नुवाकोटको छत्रेखोला सेराचौर मानेडाँडा दाङसिङ सडकमार्फत तारकेश्वर गाउँपालिका जोड्ने सडकका लागि ४ करोड र निरन्जना–बाघखोर सडकमार्फत बेलकोटगढी नगरपालिका पुग्ने सडकका लागि ४२ करोड रुपियाँ बिनियोजित छ । सिन्धुपाल्चोकको सुनकोशी–धुस्कुन–पिस्कर सडकमार्फत त्रिपुरासुन्दरी गाउँपालिका जोड्न ४ करोड र नौविसे–चौतारा सडक आयोजनाका लागि २ करोड रुपियाँ बिनियोजित छ । दोलखाको सित्ताली मेलु–माने बुद्धचोक ढाडेखोला सडकहुँदै मेलुङ गाउँपालिका जोड्ने सडकका लागि ४ करोड र भोर्ले तिनेखु गाउँपालिका केन्द्र सडक आयोजनामार्फत गौरीशंकर गाउँपालिका पुग्ने सडक स्तरोन्नतिका लागि १ करोड रुपियाँ बिनियोजित छ । रामेछापको कालो चौतारा सिंगटी गलभ च्यादलु सडकमार्फत उमाकुण्ड गाउँपालिका जोड्ने र खैरेनीघाट बेथान गाल्बा सडक आयोजनामार्फत सुनापति गाउँपालिका जोड्ने सडकका लागि ४/४ करोड रुपियाँ बिनियोजित छ ।

त्यसैगरी काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका जोड्ने भुम्लुटार–सल्ले सडक आयोजनाका लागि २ करोड, सिन्धुलीको पिप्लेभन्ज्याङ सिम्ले खटार हायुटार सडकमार्फत घ्याङलेख गाउँपालिका जोड्ने सडकका लागि ४ करोड र ललितपुरको गोदावरी नगरपालिकादेखि कोन्ज्योसोङ गाउँपालिका धेधरे जोड्ने सडक हुँदै कोन्ज्यासोङ गाउँपालिका पुग्ने सडकका लागि ४ करोड बिनियोजित छ ।

चालू आर्थिक बर्षमा २० वटा स्थानीय तहको केन्द्रमा सडक ट्रयाक खन्न र स्तरोन्नति गर्न सरकारले ५४ करोड खर्च गर्न लागेको मन्त्रालयले जनाएको छ । तीन बर्षभित्रमा कालोपत्रे सम्पन्न गर्नेगरी सडकहरुको छनौट गरी काम अघि बढेको र अर्को बर्ष थप सडक योजना बिस्तारका लागि चालू आर्थिक बर्षभित्रै ३५ वटा स्थानीय तह जोड्ने बाटोको पहिचान गरी डिपिआर सम्पन्न गर्नेगरी मन्त्रालय अघि बढेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ ।