चौबिस तोला सुन सहित मझिमटारबाट दुई जना पक्राउ

1492 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२१ साउन – धादिङको मझिमटारबाट प्रहरीले २४ तोला अबैध सुन जस्तै देखिने पहेंलो धातु सहित दुई जनालाई पक्राउ गरेको छ ।

साउन २० गते सांझ ५ वजे तिर धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटार स्थित पृथ्वीलोकमार्गहुंदै काठमाण्डौवाट चितवनतर्फ जाँदै गरेको ना ५८ प ६५५३ नम्बरको मोटरसाईकल रोकेर चेकजाँज गर्दा अवैध सुन जस्तै देखिने पहेंलो धातु सहित दुई जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाईकलका चालक चितवन भरतपुर महानगरपालिका २ क्षेत्रपुर वस्ने वर्ष ३५ को सन्तोष वस्नेत र पछाडी सवार नवलपरासी जिल्ला मध्यविन्दु नगरपालिका ६ वस्ने गोकुलमान श्रेष्ठलाई चेकजाँच गर्दा सन्तोष बस्नेतले बोकेको झोलामा अबैध रूपमा राजश्व छली लुकाई छिपाई राखी ल्याएको अवस्थामा 995-24K लेखिएको सुन जस्तै देखिने पहेलो धातु ५ थान जम्मा २४ तोला फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल सहित दुबै जनालाई पक्राउ गरि थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरीहरभवन ललितपुरमा पठाईएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुबाट एनएस २०० को रातो पल्सर मोटरसाईकल, सिमकार्ड सहितको दुई थान मोवाईल र पछाडी बोक्ने कालो झोला एक थान समेत वरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक एवम प्रवक्ता भोलामान सिंह अधिकारीले जानकारी दिनुभयो ।
काठमाण्डौबाट पृथ्बीलोक मार्ग हुदै मोटरसाईकल प्रयोग गरी अबैध रुपमा सुन तस्करी भई रहेको भन्ने सुचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले सुन सहित दुई जना पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।