नागढुङ्‍गा सुरूङमार्ग निर्माण दसैंपछि

1577 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, २४ साउन – घन्टौं जामको विकल्प चिल्लो सुलुल्ल सडकसहितको टनेल। पट्यारलाग्दो उकालोको फेदैमा पर्याप्त पार्किङसहितको मनमोहक सर्भिस सेन्टर। धुँवाधुलो खाँदै ज्यानै जोखिममा पारेर गर्नुपर्ने सडक यात्रा केही मिनेटमै सहजै पार।

काठमाडौंबाट बाहिरिने र काठमाडौ भित्रिने हजारौं यात्रुले नागढुंगा(नौबिसे खण्डमा पाउने हैरानीको बखान गरिसाध्य छैन। तर त्यो सडकखण्डभन्दा मुनि नै पहाड छेडेर सुरूङमार्ग बनाएपछिको अवस्थामा चाहिँ के होला? पक्कै सुन्दर अनि सहज।

सुरुङमार्ग निर्माणका लागि जग्गाको मुआब्जा वितरण र निर्माणका लागि ठेकेदार कम्पनी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेसँगै दसैंलगत्तै निर्माण प्रारम्भ हुने अवस्था बनेको हो।
बहुप्रतिक्षित सुरूङमार्गको निर्माण दसैंपछि प्रारम्भ हुने भएको छ। करिब १२ किलोमिटर लामो हालको सडकको चापलाई २।६ किलोमिटरको टनेलले विस्थापित गर्नेछ।

सुरुङमार्ग निर्माणका लागि जग्गाको मुआब्जा वितरण र निर्माणका लागि ठेकेदार कम्पनी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेसँगै दसैंलगत्तै निर्माण प्रारम्भ हुने अवस्था बनेको हो।

सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखा नागढुङ्‍गा सुरुङमार्ग आयोजना निर्देशनालयका अनुसार निर्माणका लागि आवेदन दिएका कम्पनीमध्येबाट ठेकेदार छनोट अन्तिम प्रक्रियामा छ।

आयोजना प्रमुख श्याम खरेलकाअनुसार आयोजनाका तर्फबाट मुआब्जा वितरण गर्ने र विभागका तर्फबाट ठेक्का प्रक्रिया टुङ्ग्याउने काम अन्तिम चरणमा छ। ‘काठमाडौतर्फको मुआब्जा वितरण सकिएर धादिङतर्फको मुआब्जा वितरण सुरु भएको छ,’ खरेलले भने, ‘दसैंलगतै निर्माण प्रारम्भ हुने अवस्था बनिसक्छ।’

के के काम सकियो?
खरेलकाअनुसार काठमाडौंतर्फको ३ सय रोपनी जग्गाको मुआब्जा वितरण सकिइसकेको छ। धादिङतर्फको १ सय ९ रोपनी जग्गाका मुआब्जाका लागि निवेदन पेस गर्न सूचना जारी गरिसकेको छ।

कूल २२ अर्ब लागत पर्ने आयोजनाले अहिलेसम्म साढे ४ अर्बको मुआब्जा वितरण गरिसकेको र करिब डेढ अर्ब अझै वितरण गर्न बाँकी रहेको जनाएको छ। ठेक्का भएपछि निर्माण पूरा हुनका लागि करिब ४२ महिना लाग्‍ने आयोजनाले जनाएको छ।

सुरुङमार्गमा पर्ने जग्गाको मूल्याङ्‍कन सरकारले ९ लाख प्रतिआनादेखि ४२ लाखसम्म निर्धारण गरेको छ। आयोजनाका अनुसार त्रिभुवन सडकको सिमाङ्‍कनमा परेका जग्गाको ४२ लाख, गोरेटो नभएको जग्गा १३ लाख, कच्ची मोटरबाटो १७ लाख र पक्की सडकले छोएको बाटोलाई १९ लाख प्रतिआना मुआब्जा तोकिएको छ।

दुई वर्षअघि सुरु भएको सुरूङमार्गको सपना साकार पार्नका लागि आयोजनाले यसबीचमा आधारभूत तह परामर्शदाता छनोट, नक्शाङ्‍कन, आयोजना लागत, ड्रइङ डिजाइनिङलगायतको काम पूरा गरिसकेको छ।

त्यसैगरी काठमाडौंतर्फका १२ पक्की घरसहित २२ छाप्रा भत्काउने काम जारी छ। ती संरचनाका लागि ५० प्रतिशत मुआब्जा वितरण गरेर भत्काएपछि बाँकी मुआब्जा दिइनेछ। धादिङतर्फ भने गुठीको जग्गा र अन्य २२ वटा छाप्रा परेका छन्।

यस्तो बन्छ सुरूङमार्ग
कूल २।६ किलोमिटर लामो सुरुङमार्गको बलम्बुमा डेडिकेटेड र सोफेस्टेकेटेड फ्लाइओभरसहितको इन्टरसेक्सन, पुल बन्‍नेछ। हाल सञ्‍चालनमा रहेको मकालु पेट्रोल पम्पबाट नागढुङ्‍गा सडक सेवालाई यथावत राख्‍ने बीचमा सय मिटर लामो फ्लाइओभर ब्रिज बन्‍नेछ। ठाउँठाउँमा इन्टरसेक्सन र पैसा उठाउने टोल गेट हुने सुरुङमार्ग प्रवेश गर्ने धादिङको सिस्‍नेमा आकर्षक सर्भिस सेन्टर बन्‍ने खरेलले जानकारी दिए। दुई लेनको सुरुङमार्गमा ३।५ मिटरका दुईवटा लेन र १।५ मिटर चौडाईको इमर्जेन्सी ट्रयाक हुनेछ।

दुई लेनको सुरुङमार्गमा ३।५ मिटरका दुईवटा लेन र १।५ मिटर चौडाईको इमर्जेन्सी ट्रयाक हुनेछ।
९।४ मिटर चौडाईको सुरुङमार्गको ५ मिटर उचाई हुन्छ। सुरुङमा पुग्‍न काठमाडौंतर्फ मुल सडकबाट २।३७० किलोमिटर बाटो विस्तार गरिनेछ भने धादिङतर्फ ५ सय ६५ मिटर सडक विस्तार गरिनेछ। ‘एकातिर गाडी हिँड्ने टनेल हुन्छ, अर्कोतर्फ इमर्जेन्सी रेस्क्युका लागि छुट्टै ट्रयाक हुन्छ,’ खरेलले भने । ‘इमर्जेन्सी ट्रयाक आपतकालीन समयमामात्रै प्रयोग गरिन्छ ।ु इन्धन बोकेका सवारी र दुईपाङ्ग्रेबाहेकका सवारीले तोकिएको शुल्क तिरेर यो मार्ग प्रयोग गर्न सक्नेछन्।

मुआब्जामा अझै गाँठो
आयोजनाका अनुसार धादिङतर्फको क्षेत्रमा श्री ५ को वायु गुठीभित्रको झण्डै २२ रोपनी जग्गा र ती जग्गामा आश्रित परिवारको समस्या फुकाउनुपर्नेछ। हालको ऐन कानुनले यस्ता जग्गामा बसोबास गर्नेले तोकिएको मुआब्जाको एकतिहाई मात्रै क्षतिपूर्ति पाउने नियम छ। तर, यसअघि बूढीगण्डकीलगायतका क्षेत्रमा सरकारले विशेष निर्णय गरेर ५० प्रतिशत र त्योभन्दा बढी पनि मुआब्जा लिएको नजिरलाई लिएर भूमिसुधार तथा गरिबीनिवारण मन्त्रालयमार्फत् विशेष प्रस्ताव गएको खरेलले जानकारी दिए। ‘जति छिटो मन्त्रिपरिषद्ले बाटो फुकाइदियो, उति छिटो मुआब्जाको काम अगाडि बढ्छ,’ खरेलले भने।

जापानको सहयोग, चिनियाँ कम्पनीको चासो
जापान सहयोग नियोग (जाइका)को सहुलियत ऋणमा निर्माण हुन लागेको सुरुङमार्ग निर्माणका लागि पाँचवटा चिनियाँ र एउटा जापानी कम्पनीले निर्माणका लागि आवेदन दिएका छन्।

आयोजना कार्यान्वयन महाशाखाले निर्माण कम्पनी छनोटका लागि २०७५ साउन २४ गते ग्लोबल टेन्डर गरेको थियो। मुआब्जाको रकम सरकारी स्रोतबाट र सुरुङ निर्माणका जाइकाको १६ अर्ब २८ करोड सहुलियत ऋणमा हुनेछ।