रवि लामिछाने छुटे ५ लाख धरौटीमा

1452 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएर अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतमा रहेको  सिधा कुरा जनता सँग कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख धरौटीमा छुटेका छन । लामिछाने संगै न्यूज 24 का पत्रकार युवराज कँडेल ३ लाख धर्राैटीमा र अस्मिता कार्की रुकु साधारण तारेखमा रिहा भएका छन ।

सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्की लाई साधारण तारेखमा छाड्न आदेश दिएको जानकारी दिए ।

अदालतले धरौटीमा छाड्ने आदेश दिएसँगै तीनै जनाले हिरासत बाहिरै रहेर थप कानुनी प्रक्रियाको सामना गर्नेछन् । लामिछानेसहित ३ अभियुक्तविरुद्ध लागेको आरोप भने अन्तिम फैसला आएपछि मात्रै किनारा लाग्नेछ । मुद्धाको किनारा नलागे सम्म तीनै जना विदेश जानु पर्दा चितवन जिल्ला अदालतको आदेश लिएर मात्रै जान सक्नेछन । यसैगरी शालिकराम पुडासैनीको बिषयलाई लिएर टेलिभिजनबाट लिएर कुनै पनि कार्यक्रम प्रशारण गर्न, सामाजिक सञ्जालमा टिका टिप्पणी गर्न समेत उनिहरुलाई अदालतले रोक लगाएको छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय, चितवनले १० दिनसम्म अनुसन्धान गरेर आइतबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

कार्यालयले अनुसन्धान प्रतिवेदनको अध्ययन सोही दिन सकेर जिल्ला अदालत, चितवनमा आत्महत्या दुत्साहनको मुद्दा दर्ता गराएको थियो ।