प्रदेश सरकारको  पहिलो प्राथमिकतामा कृषि क्षेत्र : मुख्यमन्त्री पौडेल

1136 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हेटौंडा, १४ भदौ – ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । शनिबार मकवानपुरको मनहरी गाउँपालिकाको विभिन्न वडाहरुमा रहेका माछा पोखरी तथा तरकारी फर्महरुको अवलोकन गर्दै उहाँले  कृषि  उत्पादन बढाउन प्रदेश सरकार तत्पर रहेको समेत स्पष्ट पार्नुभयो ।

कृषि क्षेत्र बिकासको मेरुदण्ड रहेको भन्दै उहाँले आर्थिक विकास गर्न कृषिलाई जोड दिन सबैलाई आग्रह समेत गर्नुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको कृषि र पशुपालन संगसंगै लैजाने नीति रहेको उल्लेख गर्नुभयो । कृषिलाई निर्वाहमुखी भन्दा पनि व्यवसायिक र प्रविधिमैत्री बनाउनु पर्नेमा पौडेलले जोड दिनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले प्रदेशका ११९ वटै स्थानीय तहहरुमा कम्तिमा एउटा कृषि केन्द्र स्थापना गर्ने बताउदै एक गाउँ एक उत्पादन क्षेत्रको अवधारणामा अघि बढिने जानकारी दिनुभयो ।

मुख्यमन्त्री पौडेलले किसानलाई मार्कापार्ने किसान र उपभोक्ताहरु बिचको बिचौलिया प्रथाको अन्त्य गरिने र बृहत कृषि  बजार स्थापना गरिने धारणा राख्नुभयो । हरेक कृषि उपजहरुको बजारीकरणका लागि दिगो र भरपर्दो कृषि बजारको व्यवस्था गरीने मुख्यमन्त्री पौडेलको भनाई थियो । सरकारले लिएको दिगो विकासको लक्ष्य अनुरुप हुने गरि काम गरीने उहाँको भनाई थियो ।

मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्र कृषि तथा पशुपालनमा पकेट क्षेत्र भएपनि  खहरखोलाले दुख दिएको प्रति लक्षित गर्दै मुख्यमन्त्री पौडेलले उचित र मजबुद तटबन्दको व्यवस्था गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । पौडेलले कृषिमा लागत कम गरी उत्पादन बढाउन यसै क्षेत्रमा दाना उद्योगको आवश्यकता पर्ने बताउदै त्यसको व्यवस्था गरिने बताउनुभयो ।

पौडेलले प्रदेश ३ तथा देश नै माछामा आत्मनिर्भर बनाउनुपर्ने उल्लेख गर्नुभयो  ।  बाटो र बिजुलीको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको जनाउदै पौडेलले सरकारको मुल अभियान नै कृषि क्रान्ती गर्ने भएकोले सबै जनता कृषिमा जोडीनु पर्ने बताउनुभयो । सरकारको प्राथमिकता एकीकृत खेती भएकोले सोही अनुसार एकीकृत खेतीप्रणाली लाई सरकारले सहयोग  गर्ने तथा आधुनिक कृषिलाई जोड दिने उहाँको धारणा थियो । माटो परीक्षण लगायतको सुविधाका लागि हरेक गाउँपालिकामा एक एक वटा तथा हरेक निर्वाचन क्षेत्र र हरेक  जिल्लामा एक एक वटा माटो जाँच केन्द्रको स्थापना गरिने उहाँको भनाई थियो । उहाँले ठाउँ , वातावरण र स्थानको  विशेषता अनुसार खेती गर्नुपर्ने धारणा राख्नुभयो  । किसान र कृषि प्रदेश सरकारको पहिलो प्रथमिकता भएकोले सरकारले सकेको सहयोग गर्ने उहाँको भनाई थियो । अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलसंग स्थानियले सडक, बिजुलीलगायत उद्यम सञ्चालनका लागि चाहिने आवश्यक अनुदानको समेत माग गरेका थिए । अवलोकनका लागि जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, मकवानपुरगढि गाउँपालिकाका प्रमुख बिदुर हुमागाई, मनहरी ४ नम्बर वडाका अध्यक्ष ध्रुब खड्का लगायत सहभागि थिए ।