नेकपा धादिङको कार्यवाहक अध्यक्षमा नेत्र पौडेल , सचिवमा विजय बुर्लाकोटी

3313 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । दुई ठुला कम्युनिष्ट पार्टी एकीकरण भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीको अध्यक्ष र सचिव दुवै पदको जिम्मेवारी कार्यवाहक तोकिएको छ । अध्यक्षको जिम्मेवारी नेत्रराज पौडेललाई र कार्यवाहक सचिव विजय बुर्लाकोटीलाई चयन गरिएको छ ।

भदौ २१ गते शनिबार धादिङबेशीमा पार्टी अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा बसेको दोस्रो पूर्ण बैठकमा पार्टी अध्यक्ष त्रिपाठीले राखेको विशेष प्रस्ताव बैठकले सर्वसम्मतीबाट पारित गर्दै नेता द्वयलाई कार्यवाहक अध्यक्ष र सचिवको जिम्मेवारी प्रदान गरेको हो ।

पार्टी एकताका क्रममा तत्कालिन कार्यदलले पौडेललाई अध्यक्ष र बुर्लाकोटीलाई सचिवमा सिफारिस गरेको भएपनि जिल्लाका केही नेताहरुले विधि विधान मिचिएको भन्दै प्रदेश कमिटि देखि केन्द्रिय कार्यालय सम्म यजुरी गर्दै विरोध जनाएपछि पार्टी केन्द्रले पुरानै नेता लाई जिम्मेवारी दिनेगरी जिल्ला नेतृत्वको टुंगो लगाएको थियो । एक पटक यो पनि पढ्नुहोस

केन्द्रको निर्णयबाट तत्कालिन एमालेका अध्यक्ष त्रिपाठीलाई अध्यक्ष र तत्कालिन माओवादी केन्द्रका अध्यक्ष शालिकराम जमकट्टेललाई सचिवको जिम्मेवारी दिएर जिल्लामा पठाएको थियो । सचिव बनाईनु भएका जमकट्टेललाई पछि पार्टीले जिल्ला इन्चार्जको जिम्मेवारी दिएपछि सचिव पदमा वुर्लाकोटीलाई मनोनयन गरिएको हो । र यो पनि पढ्नुहोस 

प्रदेश ३ सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका पार्टी केन्द्रीय सदस्य जमकट्टेलले बुर्लाकोटीलाई कार्यवाहक दिन प्रस्ताव गर्नुभएको थियो । एउटैै कमिटीमा गरिएको सिफरिसको कार्यान्वयन एकै प्रकृयाबाट गर्ने भन्दै प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेलको उपस्थितिमा माथिल्लो कार्यकारी जिम्मेवारीमा नरहे पनि अध्यक्ष त्रिपाठीले पौडेललाई कार्यवाहक अध्यक्ष दिएकोमा पार्टीका विभिन्न तहका नेता कार्यकर्ताले खुसी व्यक्त गरेका छन् ।

त्रिपाठी संघीय निर्वाचन क्षेत्र नंम्बर १ धादिङबाट प्रतिनिधिसभा सदस्य र नेकपाको प्रदेश कमिटी सदस्य हुनुहुन्छ । कार्यवाहक जिम्मेवारी पाउनु भएका पौडेल र बुर्लाकोटी दुवै जना प्रदेश कमिटीका सदस्य हुनुहुन्छ । प्रस्तावित अध्यक्ष र सचिवलाई आगामी प्रदेश कमिटीको बैठकले अनुमोदन गरेपछि पूर्ण जिम्मेवारी प्राप्त हुने बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीको अध्यक्षमा नेत्रराज पौडेल र सचिवमा विजय वुर्लाकोटीलाई देख्न चाहने नेकपाका कार्याकर्ताहरुको रहर झण्डै एक बर्ष पछि पुरा भएको छ । जिल्लाका अधिकांश नेता कार्यकर्त र शुभचिन्तकले दुवै जनालाई पार्टीको जिल्ला नेत्तृत्वमा देख्न चाहेपनि तत्कालिन पार्टी भित्र मौलाएको चरम गुटवन्दीको शिकार वन्न पुगेका द्वै नेताले अन्तत आम कार्यकर्ताले चाहेको जिम्मेवारीमा भने पुगेका छन् ।