संरक्षणको पर्खाईमा ‘कान्द्राङगढी’

2439 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कान्द्राङगढी । संरक्षण र प्रचारप्रसारको अभावले एतिहासिक एवम सामरिक महत्वको कान्द्राङगढी ओझेलमा पर्दै गएको छ । धादिङ जिल्लाको दक्षिणी भेगको विकटमा रहेको ऐतिहासिक कान्द्राङगढीको संरक्षण हुन सकेको छैन ।

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ को कान्द्राङमा रहेको ऐतिहासिक गढी नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन शासकहरुको पालामा निर्माण भएको जनविश्वास रहेको छ । समुद्री सतहबाट १ हजार ४ सय ५० मिटरको उचाइमा रहेको कान्द्राङगढी संरक्षण हुन नसक्दा ओझेलमा पर्दै गएको हो । जीर्ण अवस्थामा रहेको गढीमा चारैतिर ढुंगाको पर्खाल लगाइएको छ भने गढीनजिकै साना–ठूला गरी चारवटा सुरूङहरु समेत देख्न सकिन्छ ।

गढी रहेको स्थानबाट धादिङ, मकवानपुर, गोरखा र चितवन जिल्लाका विभिन्न भूभागहरु सजिलैसँग देख्न सकिन्छ । तत्कालीन सेन शासकहरुले पनि धादिङ, गोरखा र नुवाकोटतर्फबाट दुश्मनहरुले आक्रमण गर्न नसकून भनेर कान्द्राङमा गढीको निर्माण गरेको हुन सक्ने जनविश्वास छ । केही वर्षअघिसम्म गढीमा शिलालेख रहेको भए पनि त्यतिबेला संरक्षणका निम्ति कसैले चासो नदिँदा ती शिलालेखहरु अहिले हराइसकेको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष टंकबहादुर थापा बताउनुहुन्छ ।

तत्कालीन सेन वंशहरुको राज्य रहेको मकवानपुर राज्यलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरण गरेर गोरखा राज्यमा गाभेको इतिहासका पुस्तकहरुमा उल्लेख गरेको पाइन्छ । पृथ्वी राजमार्गको मलेखुबाट भण्डारा जोड्ने लक्ष्यका साथ निर्माण भइरहेको मलेखु–भण्डारा सडकखण्डको छेवैमा पर्ने कान्द्राङगढीलाई संरक्षण र प्रचारप्रसार गर्न सके पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने स्थानीय सामाजिक अगुवा तुलसी थापाको सुझाव छ । पृथ्वी राजमार्गको मलेखुबाट २२ किलोमिटर कच्ची सडक हुँदै गढी पुग्न सकिन्छ ।

ऐतिहासिक महत्व बोकेको कान्द्राङगढीको संरक्षणका लागि अहिलेसम्म राज्यका तर्फबाट कुनै चासो देखाइएको छैन । मुलुकको स्वाधीनता र अखण्डतासँग जोडिएको महत्वपूर्ण धरोहरका रुपमा रहेको गढीको पुनःनिर्माण र संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्न स्थानीय तहले समेत चासो देखाएको छैन ।

संरक्षण हुन नसकेर जीर्ण हुनुका साथै वर्षौंदेखि घाँस र झाडीले छोपिएको अवस्थामा गढीको भग्नावशेष देख्न सकिन्छ । नेपाली सेनाको टोलीले बेलाबेलामा सरसफाई गर्नु बाहेक अरु कुनै पनि निकायको ध्यान गढी संरक्षणमा पुग्न सकेको छैन ।पृथ्वीराजमार्गको मलेखुबाट २२ किलोमिटर कच्ची सडक हुँदै गढी पुग्न सकिन्छ । चीनको केरुङ, रसुवा, गल्छी, मलेखु हुँदै भारतको ठोरी नाका जोड्ने निर्माणाधीन सडकसँगै यो गढी जोडिएको छ ।

  • तस्बिर : सीताराम अधिकारी / रासस