धादिङबेसीको खानेपानी परीक्षण गरेर मात्रै पिउनुहोस

1359 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धदिङ,२ कात्तिक – सदरमुकाम धादिङबेसीका बासीन्दाले प्रयोग गर्दै आएको खानेपानीमा झाडा पखाला र हैजामा भेटिने किटाणु कोलिफर्म भेटिएपनि रोकथाम गर्नेतर्फ सरोकारवाला निकाय मौन रहँदै आएको छ ।
खानेपानी प्रदूषित भएकै कारण धादिङबेसीमा कुनैपनि बेला पानीजन्य रोगको महामारी फैलिने जोखिम बढेको स्वास्थ्य र सरसफाईको क्षेत्रमा कार्यरत संस्थाहरुले चिन्ता व्यक्त गर्दै आईरहेका छन् ।

खानेपानीको वितरण तथा व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी पाएको नीलकण्ठ खानेपानी तथा सरसफाई मुल उपभोक्ता समिति, नीलकण्ठ नगरपालिका र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको चरम लापरबाही र वेवास्ताका सदरमुकामका वासिन्दा प्रदुषित पानी पिउन बाध्य हुंदै आईरहेका छन् ।

सदरमुकाममा वितरण गरिएको खानेपानीको मुहानको पोखरीमा व्यवस्थित फिल्टर प्लान्ट नै छैन । जसले गर्दा धादिङबेसीका वासिन्दा धमिलो मात्रै होइन मरेको गड्यौला, भ्यागुता र तथा अन्य जिव मिसिएको पानी खान सदरमुकामबासी बाध्य हुँदै आएका छन् ।

विपद् प्रतिकार्यको क्षेत्रमा काम गर्ने सम्पूर्ण अधिकार स्थानीय तहमा भएपनि नीलकण्ठ नगरपालिकाले बजारक्षेत्रको खानेपानी व्यवस्थि तगर्न अहिले सम्म कुनै चासो नदेखाएको सर्वसाधारणको गुनासो छ । धादिङ जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिसकिएको छ । सदरमुकाममै दिसामा पाइने जीवाणु खानेपानीमा देखिएकोले खुला दिसामुक्त प्रभावकारी नभएको गुनासो बढ्दै गएको छ ।

यसै बिच दूषित पानीका कारण अनेक रोगको संक्रमण बढ्न थालेपछि धादिङ जिल्लाको सदरमुकाममा पानीको शुद्धता नाप्न परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याईएको छ । वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) र शान्ति नेपालले जिल्लामै पहिलोपटक पानी परीक्षण गर्ने मिनि ल्याव सञ्चालनमा ल्याएका हुन ।


मिनिल्यावको शुक्रवार जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नथ नेपालले उद्घाटन गर्नुभयो । कार्यक्रममा वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक विपिन डंगोलले खानेपानी परीक्षण गर्ने मिनिल्याव सञ्चालनमा ल्याउने धादिङ पहिलो जिल्ला रहेको बताउनुभएको थियो । दिगो विकास लक्ष्यको खानेपानी तथा सरसफाइको लक्ष्य हाँसिल गर्न मिनिल्यावले महत्वपूर्ण सहयोग गर्ने डंगोलले बताउनुभयो ।

शान्ति नेपालले सञ्चालनमा ल्याएको मिनिल्यावमा बजारका हरेक परिवार, खानेपानी उपभोक्ता समूह र संघ/संस्था सबैले आफूहरुले पिउने पानी परीक्षण गरेर पानीको शुद्धता पहिचान गर्न सक्ने बताईएको छ ।बजार क्षेत्रमा वितरण गरिएको खानेपानीको पाईप ठाउँ ठाउँमा फोहोर र दुर्गन्धले पुरिएको छ भने कति ठाउँमा पाईप फुटेर नालीको फोहोर पाईपको पानीमा मिसिएको प्रष्ट संग देख्न सकिन्छ ।

नीलकण्ठ नगरपालिकालाई कहिले स्मार्ट सिटि र त कहिले घर घरमा स्वच्छ खानेपानीको नारा दिएर सस्तो लोकप्रियता कमाउने तर्फ नगर प्रमुख लागिरहेको भएपनि व्यवहारमा भने केही लागु हुन नसकेपछि विपक्षी दलका कार्यकर्ता मात्रै होइन मेयर निर्वाचित भएकै दलका कार्यकर्ताहरु समेत आजित हुन पुगेका छन् ।