नागढुंगा सुरुङमार्गको प्रधानमन्त्रीबाट आज शिलान्यास हुने

1268 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं – बहुचर्चित नागढुंगा सुरुङमार्गको शिलान्यास हुने भएको छ । राजधानी प्रवेश गर्ने मुख्य सडक मार्ग नौविसे नागढुंगा सडक खण्डमा बढ्दै गएको सवारी चापलाई ध्यानमा राखी नागढुंगा सिक्रेखोला सुरुङ मार्ग निर्माण हुन लागेको हो ।

मुलुकको पहिलो सडक सुरुङमार्गको चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा प्रधानमन्त्री केपीशर्मा ओलीले सोमबार दिउँसो ३ वजे शिलान्यास गर्ने कार्यक्रम रहेको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिनुभयो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको थियो। यसका लागि रु २२ अर्ब लाग्नेमा जाइकाले १६ अर्ब सहयोग गर्ने र छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ। सोमबार अपरान्ह चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सुरुङमार्ग शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताउनुभयो ।

सुरुङमार्गको पूर्वतर्फको मुख्यद्वार (पोर्टल)सुरुङमार्गको शिलान्यास हुंदैछ ।सुरुङमार्ग निर्माणको जिम्मा पाएको हाज्मा–आन्द्रो जेभीले क्याम्प राख्न जग्गा भाडा लिने र निर्माण गरिने स्थान सम्माउने काम सुरु गरिसकेको छ । विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा–आन्द्रो जेभीबीच गत असोज ६ गते सुरुङमार्ग निर्माण सम्बन्धी सम्झौता भएको थियो।

जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले साढे १३ अर्ब रुपैयाँमा सुरुङमार्ग निर्माणको ठेक्का पाएको हो । सम्झौता भएको मितिको ४२ महिना भित्रमा ठेकेदार कम्पनीले निर्माण सम्पन्न गनुपर्नेछ ।आयोजनाले तोकेको शर्तअनुसार यो सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ ।प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको  छ ।

दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ। यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ। सडकको लम्बाइ आठ किमि कम हुनेछ। सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ ।