आज कुकुर तिहार, साँझ लक्ष्मीपूजा

1386 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हिन्दुहरूको दोस्रो ठूलो पर्व यमपञ्चकको दोस्रो दिन आज बिहान घरघरमा कुकुरको पूजा गरी साँझ लक्ष्मीपूजा गरिँदै छ।नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।

प्रत्येक वर्ष कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइने र कुकुरपूजाको भोलिपल्ट लक्ष्मीपूजा गरिने भएपनि यस वर्ष तिथि घटबढका कारण आइतबार साँझ नै लक्ष्मीपूजा गरिने भएको हो।

यस दिन कुकुरको पूजा गरी कुकुरलाई टीकामाला लगाइदिएर मीठामीठा पक्वान्न खुवाउने चलन रहेको छ।कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको पाईन्छ ।

त्यस्तै समुन्द्र मन्थन गर्दा यसै दिन लक्ष्मी प्रकट भएको शास्त्रमा उल्लेख भएको आधारमा आज साँझ नै लक्ष्मीपूजा मनाइँदै छ।

ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको श्रद्धापूर्वक पूजा गर्नाले वर्षभर लक्ष्मीको बास हुन्छ भन्ने मान्यता रहेको छ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा यस बिहानै घर सफासुग्घर र लिपपोत गरी साँझ दीपावली गरेर लक्ष्मीलाई बोलाइन्छ। विशेषगरी घरका झ्यालढोका, कोठा, ढुकुटी,सँघार, कौसी, अटाली र भ¥याङलगायत स्थानमा दीपावली गरिन्छ।

महालक्ष्मी पूजाको रातलाई सुखरात्रि पनि भनिन्छ। लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने ठाउँसम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ।

पूजाकोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, जनाइसुपाडी, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ।