सातौं धादिङ महोत्सव पुस ११ देखि २१ गते सम्म

3713 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी -धादिङ उद्योग वाणिज्य संघले २०७६ पुस ११ देखि २१ गते सम्म सदरमुकाम धादिङबेसीमा ७ औं धादिङ महोत्सव–२०७६ को आयोजना गर्ने भएको छ ।कात्तिक १६ गते धादिङबेसीमा सम्पन्न भएको धादिङ उद्योग वाणिज्य संघको कार्य समिति बैठकले सातौं धादिङ महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।

कृषि, उद्योग, व्यापार, पर्यटन तथा जिल्लाको आर्थिक एवम सामाजिक विकासमा समर्पित विभिन्न सरकारी तथा गैर सरकारी निकाय, भ्रमण बर्ष संग सम्वन्धित निकाय तथा जिल्लाका १३ वटै स्थानीय तह, निजी क्षेत्रका संस्थाहरुको सहकार्यमा महोत्सव सञ्चालन गरिने धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रवहादुर खत्रीले वताउनु भयो ।

महोत्सवमा धादिङमा उत्पादन हुने खाद्य वस्तु, स्थानीय कला, संस्कृति, कृषि, सूचना, पर्यटन,धार्मिक तथा औद्यौगिक प्रदर्शनी गरिनुका साथै कृषि तथा फलफुल,पशुजन्य उत्पादन,तयारी पोशाक, पर्यटन प्रवद्र्धन, धार्मिक सम्पदा, विद्युतीय मेशिन औजार, कला संस्कृति,जडिबुटी,लोपोन्मुख वस्तुहरु, रुवी ढुंगा, स्लेट, गन्धकका साथै बिज्ञान प्रविधि लगायतका सामानहरुको प्रदर्शनीकक्ष महोत्सवमा राखिने बताइएको छ । यसै गरी महोत्सव अवधिभरि नै रमाइलो मेलामा विभिन्न मनोरञ्जनात्मक स्टल राख्न लगाई मनोरञ्जन प्रदान गरिने कार्यक्रम रहेको छ ।

स्थानीयस्तरमा उत्पादन भएका वस्तुहरूको प्रचार–प्रसार गर्नुका साथै क्रेता र विक्रेताबीचमा सम्बन्ध विस्तार गर्नका लागि सो महोत्सवको आयोजना गरिएको धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीले वताउनु भयो । धादिङमा प्राकृतिक सम्पदा प्रशस्त रहेको तर तिनको समुचित विकास र प्रचार प्रसारको अभावले गर्दा ओझेलमा पर्दै गइरहेकोले सातौं धादिङ महोत्सव मार्फत सम्पदाको संरक्षणका लागि सहयोग पुग्ने डल्लाकोटीको भनाई छ ।

महोत्सवमा हेलिकप्टर मार्फत जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलको दृष्यावलोकन,पर्यटकीय क्षेत्रहरुमा होमस्टे,सांस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गरिने वताईएको छ ।