साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

1585 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु । एक महिना यता नीलकण्ठ नगरपालिका वडा नम्बर १२ आँगेटारीकी १२ बर्षिया करिना मगर जो मेरो बिद्यार्थी हुन उनको दुःख पिडाका कथा व्यथा सामाजिक सञ्जाल र आम सञ्चारका माध्यममा निकै चर्चामा रहेको छ । करिना मगरको दुःख पिडालाई सबैभन्दा पहिले नजिकबाट नियाल्दा म निकै भावविव्हल हुन पुगें । म पनि एउटा सामान्य नागरिक हुँ । गाउँबस्ती, दुःख, सुख मैले पनि देखे भोगेको छु तर पनि मैले करिनाको परिवारले भोग्नु परेको पिडालाई भुल्न सकिन, जस्को कष्टकर दैनिकीले मेरो मानसपटलमा धेरै कुरा घुम्न थाल्यो, मैले त परिवारका बिच दुई छाक मिठो मसिनो खाएकै छु, हाँसी खुसी परिवारका बिच बसेको छु । तर आफ्नै बिद्यार्थी खान नपाएर बिद्यालय आउन नसकेको,गरिबीले बुबाको मृत्यु भएको, आमा ओछ्यानबाट उठ्नै नसक्ने अवस्थामा रहेको दृष्यले मलाई निकैनै चोट पुग्यो ।

करिना का बु्बा यमबहादुरले कात्तिक २० गते आत्महत्या गरेका थिए । यमबहादुरको मृत्युपछि उनका आश्रित परिवारको बिच्चली हुन पुगेको थियो ।

बुबाले आत्महत्या गरेपछि १२ बर्षिया करिना थापा मगरको परिवार विचल्लीमा परेको थियो । घरमा कमाउने बुबाको मृत्यु र आमा ३३ बर्षिया लक्ष्मी थापामगर लामो समयदेखि ओछ्यानबाट उठ्नै नसक्ने गरि थला परेपछि ३ जना बालबालिकाको बिचल्ली मात्रै भएको थिएन विरामी आमा र भाई बहिनीको स्याहार सुसार गर्ने जिम्मेवारी करिनामा आएको थियो । पढाईमा राम्रो नतिजा ल्याउने करिना केही समय यता बिद्यालयमा अनुपस्थित हुने क्रम बढ्दै गएको थियो । उनको घरायसी अवस्था ज्यादै नाजुक रहेको वारेमा हामीले जानकारी पाएका थियौैं । करिनाका बुबाले लक्ष्मी थापा मगरको उपचार गराउँदा गराउँदै धेरै पैसा सकिएपछि ऋण र पारिवारिक तनाव सहन नसकेर आत्महत्या गरेको खबर आयो ।

श्रीमतीको उपचारको लागि घरखेत नै बेच्दा पनि उपचार नभएको र कान्छि छोरीलाई पनि छालाको रोग लागेपछि यमबहादुरले केहि समय देखी डिप्रेसनको औषधी खादै आएको सुनेका थियौं । बुबाको मृत्यु र आमा अर्ध बेहोस अवस्थामा ओछ्यानमा भएकाले १२ बर्षिया करिना थापामगर सहित ७ बर्षिय सोममायाँ थापा मगर र १० बर्षिय काजि थापा मगर भोकभोकै रहेको एक जना बिद्यार्थीले मलाई जानकारी दिए । घरमा कमाउने अन्य मानिस नभएपछि करिनाले एक बहिनी, भाई र थला परेकी आमाको स्याहार गर्दै आएको जानकारी पाएपछि मैले यो बारेमा प्रधानाध्यापक खेसर प्रसाद काप्री,सहायक प्रधानाध्यापक रामप्रसाद लामिछाने, शिक्षक साथीहरु युवराज रिजाल, नवराज सापकोटाका बिचमा राखें,हामीपनि अभिभावक हौं सकेको सहयोग गर्नुपर्छ केही शुरु गरौं भन्ने मेरो प्रस्तावलाई शिक्षक साथीहरुले गम्भिरताका साथ लिएर केही सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । हामीले तत्काल बिद्यालयको तर्फबाट ५ हजार नगद र खाद्यान्न सहयोग करिनाको घरमै पुगेर उपलव्ध गरायौं । करिनाको घरमा पुग्दा जुन दृष्य देखें त्यो दृष्यले मलाई निकै भाव विव्हल बनायो । एउटा शिक्षकको नाताले बिद्यार्थीको त्यो पिडालाई नजिकबाट देख्दा मेरो आँखा रसाउन पुग्यो । यस्तो पिडा कसैलाई पनि नहोस भन्ने कामना गर्दै सकेको सहयोग जुटाएर यो परिवारमा केही राहत दिलाउने हामीले प्रतिवद्धता गरेका थियौं ।

बिद्यालयको तर्फबाट तत्कालिन सहयोग जुटाएपनि मलाई उनिहरुको कारुणिक अबस्था देखेर निकै पिडा महसुस भयो । बिहानको समयमा म धादिङबेसीको गणेश हिमाल क्याम्पसमा प्राध्यापन गर्दछु । मैले यो बिषयलाई आंफुले पढाउने बिद्यार्थीका बिचमा राखें र सकेको सहयोग गरिदिन लिखित अपिल पनि गरें । मेरो आग्रहलाई बिद्यार्थीहरुले निकै उत्साहपूर्वक साथ दिए,क्याम्पसका प्राध्यापक,बिद्यार्थी तथा कर्मचारीबाट एकै दिनमा २० हजार ३ सय ७५ रुपैयाँ सहयोग जुट्यो । यसरी गरिएको प्रयास सफल भएपछि मैले सहकर्मी मित्रहरुलाई थप अनुरोध गरें, हामीले थोरै पहल गरिदिने हो भने करिनाको जिवनमा केही परिवर्तन आउनेछ । उनको दुःखको घाउमा मल्हम लगाउन सकिन्छ । यहि सोचाईका साथ साङकोष माविका शिक्षक साथीहरुले छिमेकी बिद्यालयहरुमा लिखित मौखिक आग्रह गर्न थाल्यौं । थोपा थोपा पानी जम्दा समुद्र बने जस्तै हाम्रो अभियानलाई धेरैले साथ दिनु भयो । हामीले चालेको कदम सही देखियो ।
यति गरेर मात्रै पुग्दैन अब यो बिषयलाई आम सञ्चार माध्यमबाट बाहिर ल्याउनु पर्छ भन्ने लागेरसञ्चार माध्यमका साथीहरुलाई जानकारी गरायौं । सहकर्मी नवराज सापकोटा लगायतका शिक्षक साथीहरुले आआफ्नो फेसबुकमा लेख्नु भयो । मैले पनि अभियान जारी राखें । यसै क्रममा राष्ट्रिय समाचार समिति तथा नेपाल समाचार पत्रका जिल्ला प्रतिनिधि सीताराम अधिकारीले पहिलो समाचार करिनालाई केन्द्रमा राखेर लेख्नु भयो, त्यसपछि अन्नपूर्ण पोष्टका मनिष दुवाडीले पनि त्यसै गरि लेख्नुभयो । उहाँहरुका साथै धेरै जना पत्रकार मित्रहरुले समाचार लेख्नु भयो, पत्रपत्रिका, अनलाइन, टेलिभिजन रेडियोबाट प्रकाशन प्रसारण गरिदिनुभयो । समाचारकै कारण करिनाको आमा लक्ष्मीको उपचार सम्भव भएको छ । करिनाको अर्की बहिनीको पनि उपचार शुरु भएको छ । उनिहरुले भोग्नु परेको समस्या अहिले विश्वव्यापी हुन पुगेको छ । देश विदेशमा रहेका सहयोगी मनहरु जुट्न थाले, जुन क्रम अहिले पनि जारी रहेको छ । चौतर्फी चासो र चिन्ता बढ्दै गएको छ । जस्को फलस्वरुप बिद्यालयले निस्वार्थ भावनाका साथ शुरु गरेको अभियानले अहिले ठूलो आकार लिन सफल भएको छ । सहयोगीदाताहरुको सहयोगलाई पारदर्शी ढंगबाट व्यवस्थापन गर्न बिद्यालयको संयोजनमा करिना, काजीराम र सोमकुमारीको सहयोगका लागि प्राप्त हुने रकम जम्मा गर्न रामप्रसाद लामिछाने,बलबहादुर थापा र टिका मगरको नाममा राष्ट्रिय वाणिज्य बैंक धादिङ शाखामा खाता नम्बर १०३००२०२८८१ रहेको खाता संचालन गरिएको छ जस्मा मंसिर २३ गते सोमबार दिउँसो सम्ममा ९ लाख ३० हजार रकम जम्मा भईसकेको छ । नगद बाहेक अन्य सहयोग जे जति प्राप्त भएको छ त्यो सबै सम्वन्धित व्यक्तिले पाएका छन ।

अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको समाचार प्रभावले धुम्बाराहीमा रहेकोे हस्पिटल अफ एड्भान्स मेडिसिन एण्ड सर्जरी (ह्याम्स)ले लक्ष्मी र छालासम्बन्धि जन्मजात रोग भएकी सोममायाको निशुल्क उपचार गर्ने प्रतिवद्धता गरेको थियो । अस्पतालको टोलीलाई गाउँ सम्म पु¥याएर विरामीलाई एम्बुलेन्समा राखेर पठाउँदा मैले चाहेको थिएँ, लक्ष्मीको उपचार होस र यो परिवारको खुसी फर्कियोस । ह्याम्स अस्पतालले आमा लक्ष्मी र छोरी सोममायाको अहिले निःशुल्क उपचार गरीरहेको छ ।ह्याम्स अस्पतालमा लक्ष्मीको उपचार भईरहेको छ । उपचारको क्रममा लक्ष्मी बोल्न सक्ने भएको खबर पाउँदा निकै खुसी लागेको छ ।

लक्ष्मीलाई ह्याम्स अस्पतालका मनोचिकित्सक डाक्टर रमन कोइरालाको टिमले उपचार र परामर्श गराइरहेको छ । डाक्टर कोइरालाका अनुसार लक्ष्मी बोल्न र आफै खान मात्र होइन ह्वीलचियरको साहरामा हिँड्न पनि थालेकी छन् ।

हरेक मान्छेका जिवनमा हरेक किसिमका समस्याहरु आईनै रहन्छन, कतिले ति समस्या समाधान गर्न सक्छन, कतिले सक्दैनन, बेलैमा साथ र सहयोग जुट्यो भने हरेक खालका समस्या समाधान हुन सक्छ भन्ने सन्देश करिनाको बिषयले दिएको छ ।