धादिङका स्थानीय तहको प्रशासनिक वर्गीकरण तीन वर्गमा

3569 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – सरकारले देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई वर्गीकरण गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । राज्य पुनर्संरचनापछि पहिलो पटक स्थानीय तहको प्रशासनिक वर्गीकरण हुन लागेको हो ।

देशभरका स्थानीय तहलाई चार वर्गमा बाँडिएको भएपनि धादिङमा भने घ वर्गमा कुनै पनि स्थानीय तह परेका छैनन । अति नै दुर्गमलाई क, दुर्गमलाई ख, मध्यम ग र सुगमलाई घ वर्गमा राखिएको छ ।

विभिन्न सूचकलाई आधार मानेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रारम्भिक प्रतिवेदन अनुसार धादिङका १३ स्थानीय तह मध्ये ३ वटा क मा ३ वटा ख मा र ७ वटा स्थानीय तहलाई ग मा वर्गिकरण गरिएको छ ।

प्रारम्भिक प्रतिवेदनमा उल्लेख भएअनुसार धादिङको रुवीभ्याली, खनियबास र गंंगाजमुना गाउँपालिका क वर्गमा(अति नै दुर्गम), ज्वालामुखी,त्रिपुरासुन्दरी र नेत्रावती डवजङ ख वर्गमा( दुर्गम) र नीलकण्ठ र धुनिबेसी नगरपालिकाका साथै थांक्रे, गल्छी,गजुरी,वनिघाटरोराङ र सिद्धलेक गाउँपालिका ग वर्गमा ( मध्यम) परेका छन । धादिङका कुनै पनि स्थानीय तह सुगममा परेका छैनन ।

स्थानीय तहको यातायातको सुविधा, प्रदेश राजधानीदेखिको दूरी, जिल्ला सदरमुकामदेखिको दूरी, स्थानीय तहमा उपलब्ध शिक्षा, स्वास्थ्य सेवा, दूरसञ्चारको सेवा, विद्युत सेवाको पहुँच र नियमितता, मानव विकास सूचकांक, भौगोलिक अवस्थिति र स्थानीय तहको स्तरलाई आधार मानेर विवरण तयार पारेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार स्थानीय तह कार्यान्वयनमा आएपछि नाम, सीमा, संरचना हेरफेर भएकाले नयाँ वर्गीकरण गर्न लागिएको हो ।

अझै पनि बाटो, बिजुली, शिक्षा, स्वास्थ्य जस्ता पूर्वाधार सबै स्थानीय तहमा समान छैन । भौगोलिक अवस्था पनि एकनासको छैन । यी सबै विषयलाई ध्यानमा राखेर प्रशासनिक वर्गीकरण गर्न लागिएको हो ।

पूर्वाधार तथा सामाजिक विकासको अवस्थाको आधारमा स्थानीय तहको वर्गीकरण गरी विकासका प्राथमिकता आँकलन गर्न तथा स्थानीय तहमा खटिने कर्मचारीको सेवा सुविधा र वृत्ति विकासलाई वस्तुगत बनाउन मन्त्रालयबाट सूचकको विकास गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

साथै वर्गीकरणले कर्मचारी व्यवस्थापन, कर्मचारीको सेवा सुविधा र वृत्ति विकास, पूर्वाधार तथा सामाजिक विकासका प्राथमिकता तय गर्न समेत उपयोगी हुने उल्लेख छ । मन्त्रालयले केही दिनमा नै अन्तिम सूची तयार गरी सार्वजनिक गर्ने  तयारी गरेको छ ।