धादिङकी बिमला तामाङले अमेरिकामा जितिन स्वर्ण

1723 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २३ पुस – राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मैदानमा पुगेर धादिङका खेलाडीहरुले विभिन्न विधामा स्वर्ण पदक जित्ने क्रम बढ्दै गएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको सेमजोङ घर भएकी बिमला तामाङले अमेरिकामा स्वर्ण पदक जितेकी छिन् । अमेरिका न्युयोर्कस्थित वेस्टचेस्टरमा भएको इजिआई इन्टरनेसनल ओपन च्याम्पियनसिप २०२० को एकल कातामा स्वर्ण पदक जितेकी हुन् । उनले फाइनलमा अमेरिकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएको हो ।

इन्चोन एसियाड २०१४ मा नेपाललाई पदक विहीन हुनबाट जोगाएकी कराँतेकी बिमला तामाङले अमेरिकी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी हन् । बिमलाले केही महिना पहिला पनि अमेरिकामा भएको १५ औ ओकिनवान कराँते कोबुदो स्वर्ण जितेकी थिईन् । धादिङका ध्रुवविक्रम मल्ल मुख्य प्रशिक्षक रहेको बालाजु कराँते डो बाट प्रशिक्षित बिमला केही वर्ष देखि अमेरिका मै रहँदै आएकी छिन् ।

पछिल्लो समयमा धादिङका खेलाडीहरुले राष्ट्रिय स्तरमा मात्रै होइन विदेशमा पुगेर समेत पदक जितेर किर्तिमानी राख्ने क्रम बढ्दै गएको छ । दुई साता अघि चिनमा सम्पन्न भएको ट्रेल रेस जितेर धादिङ छत्रेदेउरालीकी रसिला तामाङले नेपालको स्वर्ण जितेकी थिईन । जियाओजी माउन्टेन क्रसिङ कम्पिटिसनमा तामाङले नेपाली खेलाडीको तर्फबाट स्वर्ण पदक जितेकी हन् । २० वर्षीया रसिलाले निर्धारित ५० किलोमिटरको ट्रेल रेस ८ घन्टा २० मिनेट ४३ सेकेन्डमा पुरा गरेर स्वर्ण जितेकी थिईन ।

त्यसै गरि थाईल्याण्डमा एक अघि सम्पन्न अन्र्तराष्ट्रिय मुईथान बक्सिङ प्रतियोगितामा धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ११ ज्यामरुङका शंकर धमला मुईथान च्याम्पिन बनेका थिए । धमलाले नेपालको प्रतिनिधित्व गर्दै उक्त प्रतियोगितामा सहभागि भएर स्वर्ण पदक जितेका थिए । धमलाले गत साल हङकङमा भएको अन्तराष्ट्रिय प्रतियोगितामा पनि स्वर्ण जितेका थिए ।

गत महिना काठमाण्डौंमा सम्पन्न भएको साग गेममा सहभागी भएका धादिङका ११ जना मध्ये ३ जनाले स्वर्ण, ३ जनाले रजत र ३ जनाले कास्य पदक जितेका थिए ।