शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

3266 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा आयोजना गरिएको महोत्सवको पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दहालबाट उद्घाटन हुने भएको छ । महोत्सवको उदघाटन हुनुअघि शुक्रवार सदरमुकाम धादिङबेसीका विभिन्न भागबाट पञ्चैवाजा,जातीय तथा साँस्कृतिक पहिचान सहितका झाँकी निकालिने आयोजकले जनाएको छ ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष रुद्रवहादुर खत्रीले बताउनुभयो ।

महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण रहेको आयोजकहरुले जानकारी दिएका छन् ।

यसैगरी हस्तकलाको प्रदर्शनी, जडीबुटी तथा बनपैदावारको प्रदर्शनी, खनिजजन्य उत्पादनको प्रदर्शनी गरिने छ । महोत्सवमा करिब १ सय ५५ वटा स्टल रहनेछ । महोत्सव करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र १० करोडको कारोवार हुने लक्ष्य राखिएको आयोजकले दावी गरेको छ ।

महोत्सवमा भ्रमण बर्ष २०२० लाई सफल पार्न धादिङ जिल्लाको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारका एवम् प्रवद्र्धनका कार्यहरु पनि हुनेछ । पर्यटकीय क्षेत्रहरुको जानकारी गराउनुको साथै विभिन्न जातजातिको भेषभुषा झल्कने संस्कृतिको प्रदर्शनी महोत्सवमा रहनेछ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारद्वारा कला प्रदर्शन, कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिनेछ र महोत्सव अवधिभरि नै रमाइलो मेलामा विभिन्न मनोरन्जन लिन पनि सकिनेछ । विभिन्न स्वादका खानाका परिकार,राष्ट्रिय तथा जिल्लाका चर्चित ख्याती प्राप्त कलाकारहरुको दैनिक साँस्कृतिक प्रस्तुती पनि महोत्सवको आकर्षणका रुपमा रहने वताईएको छ ।

अघिल्ला महोत्सवहरु जस्तै यसपटक भ्रमण बर्ष प्रवद्र्धनका साथै धादिङको कृषि, पर्यटन, जलस्रोत तथा जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानको दिर्घकालिन लक्ष्यसहित महोत्सवको आयोजना गरिएको संघका महासचिव लोकनाथ डल्लाकोटीले बताउनु भयो । जिल्लाको मौलिक परम्परा, कला संस्कृतिको संरक्षण तथा सम्र्वद्धन, घरेलु उत्पादनलाई बजारिकरण गर्न सातौं धादिङ महोत्सवले सघाउ पुग्ने उहाँले वताउनु भयो ।