सदरमुकाम र वजार क्षेत्रमा बैंकका शाखा खुल्नेक्रम बढ्दै

956 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, – धादिङ जिल्लाको सदरमुकाम र मुख्य वजार क्षेत्रमा बैंक तथा वित्तीय संस्था खुल्नेक्रम बढ्दै गएको छ ।

सदरमुकाम धादिङबेसीमा अहिले बैकको संख्या १८ पुगिसकेको छ । नेपाल बैक, राष्ट्रिय वाणिज्य बैक, कृषि विकास बैंकका साथै एनआईसि एसिया,प्रभु, एभरेष्ट, हिमालयन, मेघा,सानिमा, सिद्धार्थ, सिभिल समेत गरि १२ वटा वाणिज्य बैंक सञ्चालनमा रहेका छन । त्यसै गरि कामना सेवा,गण्डकी, कैलाश,मुक्तिनाथ, गरिमा, देव विकास र महालक्ष्मी गरि निजी क्षेत्रका ७ वटा विकास बैकले सदरमुकाममा सेवा दिईरहेका छन् ।

सदरमुकाम धादिङबेसी पछि सबैभन्दा धेरै बैंकको शाखा गल्छी गाउँपालिकामा खुलेको छ । गल्छीमा वाणिज्य तर्फ ग्लोवल आईएमई, नेपाल बंगलादेश, एनएमवि,बैंक अफ काठमाण्डौं, एनआईसि एसिया, नविल र विकास तर्फ मुक्तिनाथ,ज्योति, कामना सेवा,सांग्रीला बैंकका शाखाहरु संचालनमा आएका छन् । हरेक हिसावले संभावनाको क्षेत्र भएकाले बैक तथा वित्तिय संस्थाको नजर गल्छीमा पर्ने गरेको धादिङ उद्योग वाणिज्य संघ दक्षिण क्षेत्रीय समितिका अध्यक्ष दिपक कार्की बताउँछन् ।

सरकारले देशका १० वटा नमूना शहर भित्र राखेर पूर्वाधार निर्माणमा तिव्रता दिईरहेको गल्छी हरेक क्षेत्रमा संभावना बोकेको बजारका रुपमा विकास हुंदै गएपछि यस क्षेत्रमा बैैंकहरु खुल्ने क्रम ह्वात्तै बढेको ।

गल्छी पछि पृथ्वीराजमार्गको धार्के, महादेवबेसी, गजुरी, मलेखु र वेनिघाटमा पनि बैंक तथा वित्तिय संस्थाको शाखा खुल्नेक्रम बढ्दै गएको छ । राजमार्ग क्षेत्र बाहेक जिल्लाको उत्तरी र मध्य भेगको स्थानीय तहमा पनि एक एक वटा वाणिज्य बैंक खुल्नेक्रम शुरु भएको छ । जिल्लाको १३ वटा स्थानीय तह मध्ये रुवीभ्याली र नेत्रावती गाउँपालिकामा अझै बैंक पुग्न सकेका छैनन् । यि बाहेक गंगाजमुनामा नेपाल एसविआई, खनियावासमा बैंक अफ काठमाण्डु, त्रिपुरासुन्दरी र ज्वालामुखी गाउँपालिकामा मेघा बैंक र सिद्धलेकमा कुमारी बैंकले सेवा दिइरहेका छन् ।
कृषि, उद्योग,जलविद्युत्त, पर्यटन र व्यापारिक हिसावले धादिङ जिल्लामा प्रशस्त संभावना रहेकाले बैंकहरुको शाखा विस्तार हुने क्रम बढ्दै गएको बैंक सञ्चालकहरु बताउँछन् ।

‘एक बर्ष अघि सम्म सामान्य बैकिङ सेवा लिन जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता थियो’ अहिले गाउँमै बैंक खुलेपछि सजिलो भएको जिल्लाको उत्तरी भेगको विकटमा रहेको गंगाजमुना गाउँपालिका फुलखर्कका गोपाल अधिकारीले वताए ।

बैंक स्थापनाको क्रम बढ्दै गएपछि समग्र नीजि क्षेत्रलाई पनि सहज हुदै आएको धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटी बताउँछन् । नयाँ उद्योग, व्यवसाय संचालन गर्न चाहानेहरुका लागि बैंकहरुले सहज रुपमा कर्जा उपलव्ध गराउनुपर्ने डल्लाकोटीको सुझाव छ । साना तथा घरेलु उद्योगहरु संचालन गर्ने उद्यमीहरुका लागि समेत सहुलियत रुपमा बैंकहरुले कर्जा उपलव्ध गराउनुपर्ने उनको आग्रह छ । ‘कृषि, पर्यटन र ऊर्जाको हिसावले जिल्लामा थुप्रै संभावना छन’ ‘संभावना पहिचान गरी लगानीलाई बढवा दिनेतर्फ बैंकहरु लाग्नु पर्ने उनले जोड दिए ।