कोरोनाबाट बच्न हात मिलाउनुको सट्टा ‘नमस्कार’ संस्कृतिनै उत्तम

743 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं – के तपाईं आफन्तसँगको भेटघाटमा चुम्बन, अंकमाल वा हात मिलाउँदै हुनुहुन्छ ? त्यसो हो भने झुक्किएर पनि त्यसप्रकारको क्रियाकलाप गर्नबाट टाढै रहनुहोस् । तपाईं वा तपाईंका आफन्तजनलाई पनि कोभिड–१९ अर्थात् नयाँ कोरोना भाइरसको संक्रमण हुनसक्छ ।

चीनबाट सुरु भएको उक्त भाइरस नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् तर संक्रमण र त्यसबाट हुने मृत्युलाई रोक्न सकिएको छैन । अहिले चीनमा संक्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रविन्दु बन्दै गएको छ । हिजो आइतबार जोन्स हप्किन्स विश्वविद्यालय ९वाल्टिमोर, अमेरिका० ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म १५० देशमा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ भने एक लाख ५६ हजार ४४५ व्यक्तिमा संक्रमण देखिएको छ । हालसम्म पाँच हजार ८३३ व्यक्तिले ज्यान गुमाइसकेको भए पनि नेपालमा एक व्यक्तिमा बाहेक सङ्क्रमण नदेखिएको र संक्रमणमा रहेका उक्त व्यक्ति निको भई घर फर्किसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले जनाएको छ ।

कोरोना भाइरसले आफन्त, गरिब, धनी, सानोरठूलो जात, अग्लो, होचो, स्त्री, पुरुष, हिमाल, पहाड, तराई, गाउँ, शहर, धामीझाँक्री, चिकत्सक, किसान, उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थी केही भन्दैन । यो रोगको संक्रमणबाट जोगिन आफन्तसँग सुरुमा भेटघाट वा बिदाइमा गरिने चुम्बन, अंकमाल र हात मिलाउनुको सट्टा दुवै हात जोडेर नमस्कार गर्नु नै उत्तम हुनेछ । यसबाट अभिवादन गर्ने व्यक्ति र स्वीकार गर्ने दुवैको हित हुनेछ ।

कुनै व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण रहेछ भने चुम्बन गर्दा श्वासप्रश्वासबाट र अंकमाल वा हात मिलाउँदा छालाको स्पर्शबाट कोरोना भाइरस सर्न सक्छ । त्यसैले चिकित्सकले चुम्बन, अंकमाल र हात नमिलाउन सन्देश प्रवाह गरेका छन् । कोरोना भाइरसबाट जोगिन साबुन र तातोपानीले कम्तीमा २० सेकेन्डसम्म राम्रोसँग हात धुन अर्थात् स्यानेटाइजर जेल प्रयोग गर्न, हाच्छियुँ गर्दा रुमालको प्रयोग गर्न, हात नधोई वा स्यानेटाइजर जेलको प्रयोग नगरी आँखा, नाक र मुख नछुन, संक्रमित मानिसको नजिक नजान, सभा, समारोह, भोजभतेर अर्थात् मानिसको जमघट हुने क्षेत्रबाट टाढै बस्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

सरकारी तथा गैरसरकारी संस्था तथा स्वास्थ्य विज्ञले मात्र होइन, अमेरिका, भारत र बेलायतका सरकार प्रमुख डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी र बोरिस जोनसनले समेत चुम्बन, अंकमा र हात मिलाउनुका सट्टा दुई हात जोडेर नमस्कार गर्न सुरु गरिसकेका छन् । नमस्कार एक व्यक्तिले नजिकको आफन्त, साथीभाइ अगाडि उभिएर दुवै हातका औंला आकाशतर्फ फर्काएर गरिने अभिवादनलाई भनिन्छ । नमस्कार अथवा नमस्ते गर्नु भनेको अभिवादन गर्ने प्रचलित चलन हो । कुनै व्यक्तिसँग सुरुमा मिल्ने वा उनीसँग बिदाइ हुने समयमा नमस्कार भनेर अभिवादन गर्ने गरिन्छ ।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले कोभिड–१९ को संज्ञा दिएको कोरोना भाइरसको लक्षण सुरुमा ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न कठिन हुने वा मांसपेशी दुख्ने देखिन्छ । यस्तो अवस्थामा सुरक्षित साथ नजिकको अस्पताल जाने अथवा अस्पताल जान नसकेको अवस्थामा अस्पतालमा जानकारी गराउने भन्ने जानकारी सार्वजनिक गरेको छ ।

नमस्कार संस्कृत शब्द हो । संस्कृतको नमः शब्दबाट लिइएको नमस्कारको अर्थ प्रणाम गर्नु भन्ने हुन्छ । प्रत्येक व्यक्तिभित्र ईश्वरीय तत्व हुन्छ । त्यसलाई आत्मा भनिन्छ । नमस्कार गर्दा एक व्यक्तिको आत्माले अर्को व्यक्तिको आत्मालाई अभिनन्दन वा सम्मान गरेको अर्थमा नमस्कार गरेको भन्ने अर्थ लाग्छ । दुवै हात जोडेर नमस्कार गर्नाले मनमा स्वच्छ भावनाको विकास हुनगई सकारात्मक सोचको विकास हुन्छ । (रासस)