धादिङ अस्पतालले बनायो ९ शैय्याको आइसोलेशन कक्ष

991 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २२ चैत – कोराना भाईरसको संक्रमणको सम्भावित जोखिमलाई , ध्यानमा राखि जिल्ला अस्पताल धादिङले ९ शैय्याको अस्थायी एकीकृत आइसोलेशन कक्ष स्थापना गरेको छ । सदरमुकाम धादिङबेसीमा रहेको कृषि ज्ञान केन्द्रको नयाँ भवनमा अस्पतालले एकीकृत आइसोलेशन कक्ष निर्माण गरेको हो ।

नेपाल सरकारले जिल्ला अस्पताललाई आईशोलसन कक्ष निर्माण गर्न निर्देशन दिएपछि जिल्ला अस्पतालले विभिन्न निकाय संगको समन्वय र सहकार्यमा कोरोना उपचारको अस्थायी एकीकृत आईसोलेसन कक्ष सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले बताउनु भयो ।

जिल्ला अस्पतालका सूचना अधिकारी विक्रम विश्वकर्माका अनुसार धादिङको जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नीलकण्ठ नगरपालिका, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, जिल्ला स्थित सुरक्षा निकायको सहयोगमा अस्थायी एकीकृत आईसोलेसन कक्ष सञ्चालनमा आएको हो । आइसोलेसन कक्षका लागि शैय्या,स्वास्थ्यकर्मी, औषधि र उपकरणको व्यवस्थापन धादिङ अस्पतालले गरेको हो ।

सदरमुकाममा रहेको कारण आईसोलेसन कक्षमा जुनसुकै स्थानीय तहबाट विरामी आउन सक्ने भएकाले आवश्यकता अनुसार शैय्या र उपकरण थपिंदै लगिने र त्यस्का लागि जिल्लाका स्थानीय तह सँग सहकार्य गरिने अस्पताल विकास समितिका अध्यक्ष धमलाले जानकारी दिनुभयो ।