नेपालमा कोरोना संक्रमित हुनेको संख्या १३ जना पुग्यो

977 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोविद १९ अर्थात कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्या संसारभर छिनछिनमै थपिंदै गएको छ । यसै क्रममा नेपालमा पनि कोरोना भाइरस संक्रमित भएका थप एक जना बिरामी फेला परेपछि नेपालमा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ ।

सुदूरपश्चिमस्थित कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा ६० वर्षीया महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले जानकारी दिनुभयो ।

डाक्टर तिमिल्सिनाका अनुसार लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच जना पुगेको छ ।

कैलालीमा कोरोना पोजेटिभ देखिएकी ६० वर्षीया बृद्धा वीरगन्जबाट ३५ जनासँगै कैलाली पुगेको खुलेको छ । प्रहरी स्रोतका अनुसार लकडाउन भएपछि चैत १७ गते बिरगन्जबाट ती महिलासहित अन्य ३५ जना बसमा कैलाली गएका थिए । उनीहरु १८ गते कैलाली पुगेका थिए । १८ गतेबाट २९ गतेसम्म उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

लकडाउनका कारण अलपत्र परेपछि स्थानीय प्रशासनले उनीसहित ३५ जनालाई बस बुकिङ गरेर कैलाली पठाएको थियो । उनी वीरगन्जस्थित बसपार्कमा चिया पसल गर्दै आएकी थिइन । उनको स्थायी घर कैलालीको लम्कीचुहा नगरपालिकामा छ ।

वीरगन्जबाट कैलाली पुगेको ३५ जनाकै समूहलाई विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । जसमध्ये कोरोना पोजेटिभ देखिएकी महिलासहित १७ जनालाई लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । केही दिनअघि ती महिलासहित अन्यको र्‍यापिड टेष्ट गरिएको थियो । र्‍यापिड टेष्टमा नेगेटिभ देखिएको थियो ।

तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक  अधिकारीले बताए । कोरोनापोजेटिभ देखिएपछि उनीसँगै क्वारेन्टाइनमा बसेका १७ जनालाई फिर्ता बोलाइएको छ । शनिबार र्‍यापिड टेस्ट किटमा पोजेटिभ देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पीसीआर मेसिनमा पुनः परीक्षणका लागि पठाइएको थियो । त्यहाँ पनि पोजेटिभ देखिएको थियो ।