झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु

1112 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ज्वालामुखी-धादिङ । चितवनमा मजदुरी गर्दै आएका एक युवाको लकडाउनका कारण घर फर्कंदै गर्दा गाउँनजिकै आइपुगेपछि बुंकोटघाटको पुलबाट खसेर ज्यान गएको छ ।

धादिङको ज्वालामुखी गाउँपालिका वडा नं–५ स्थित बाझाघर घर भएका होमबहादुर राना मगरको बुधबार राति झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको हो ।
गाउँमा अनावश्यकरूपमा बाहिरी मान्छेहरूको प्रवेश भएको भन्दै स्थानीयले धादिङ र गोरखा जिल्लाको सिमानामा रहेको बुङ्कोटघाटस्थित बूढीगण्डकी नदीमाथिको झोलुङ्गे पुलमा केही दिनअघि तारबार गरेर बन्द गराएका थिए । पुल बन्द भएपछि अति आवश्यक काममा समेत मानिसको आवतजावतमा समस्या भएको थियो ।

ज्वालामुखी गाउँपालिका वडा नं–५ का अध्यक्ष कृष्णप्रसाद काप्रीका अनुसार रानाले बुधबार राति आफू घर आइरहेको जानकारी परिवारलाई गराएका थिए । परिवारसँगको सम्पर्कमा पुलसम्म लिन आउन भनेपछि परिवार बुंकोटघाट पुगेको थियो, तर त्यहाँ पुगेर पुलवरपर खोज्दा कतै फेला नपारेपछि उनीहरू राति नै घर फर्किएका थिए । लिन आउनू भनेको व्यक्तिसँग फोन सम्पर्कसमेत हुन छाडेपछि परिवारका सदस्य बिहीबार बिहानै खोज्न जाँदा पुलमुनि मृत अवस्थामा रानाको शव फेला पारिएको हो ।

मगरको मृत्यु पुलबाट खसेर भएको हो भन्न नसकिने अवस्था रहेको वडा अध्यक्ष काप्रीले वताएका छन । पुलभन्दा केही वरबाट खसेको देखिएकाले घटनाको निष्पक्ष छानविन गरी सत्य तथ्य अनुसन्धान हुनुपर्ने वडाअध्यक्ष काप्री बताउँछन ।

राना लकडाउनअघि परिवारसहित चितवनमा बस्दै आएका थिए । लकडाउन सुरु भएपछि श्रीमती केही दिनअघि गाउँ फर्किएकी थिइन्, उनी भने केही दिनमा लकडाउन खुल्ने आशामा चितवनमै बसेका थिए, तर लामो समयसम्म लकडाउन जारी रहेपछि चितवनबाट हिँडेरै गाउँ फर्किएको परिवार स्रोतले बताएको छ ।

बागमती प्रदेश र गण्डकी प्रदेशको सिमानामा रहेको बूढीगण्डकी पुलमा लकडाउनको कारण स्थानीयले आवतजावतमा कडाइ गर्दै तारजाली कसेर छेकबार गरेका छन् । बुधबार राति उक्त छेकबार पार गर्ने क्रममा उनी नदीकिनारमा खसेको हुन सक्ने वडाध्यक्ष कृष्णप्रसाद काप्रीले जानकारी दिए ।

धादिङको ग्रामीण भेगका विभिन्न स्थानमा केही दिनयता सडकमा छेकबार लगाएर हिँड्डुलमा रोक लगाउने कार्य हुँदै आइरहेको छ ।बाहिरी मानिसहरूको प्रवेश गाउँमा हुन नदिन गरिएका यस्ता प्रयासले झनै सङ्कट ल्याउन सक्ने सोसियल भोलेन्टियर नेपालका अध्यक्ष नारायणकुमार श्रेष्ठ बताउँछन् । आकस्मिक अवस्थामा एम्बुलेन्स, दमकल, प्रहरी जानुपर्दा यस्ता खाले अवरोधले झनै क्षति हुने उनी बताउँछन् ।