‘लकडाउन रहर होइन वाध्यता हो’ – सांसद खेम लोहनी

1661 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी- कोरोना रोकथामका लागि जिल्ला स्तरमा भएका गतिविधिहरुको बारेमा धादिङ जिल्लाका प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीले सरोकारवालाहरुसँग जानकारी लिनु भएको छ ।

शनिवार विहान सदरमुकाम धादिङबेसीमा सरोकारवालाहरु संग अनौपचारिक भेटघाट कार्यक्रम राखी सांसद लोहनीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएका गतिविधि र समस्याहरुको वारेमा जानकारी लिनु भएको हो । भेटघाटमा सहभागी जिल्ला स्तरीय कमाण्ड पोष्टका सदस्य सचिव समेत रहनु भएका स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले सांसद लोहनीको जिज्ञासाहरुको जवाफ दिनु भएको थियो । डाक्टर पौडेलले सांसद लोहनीलाई कोरोना भाईरस संक्रमण परिक्षणका लागि गाउँ गाउँबाट माग आईरहेको भएपनि जिल्लामा किटको अभाव भएकाले आवश्यक किट उपलव्ध गर्ने व्यवस्थाका लागि सहयोग गरिदिन अनुरोध गर्नु भएको थियो ।

भेटघाट कार्यक्रममा डाक्टर पौडेलले अहिले सम्म जिल्लाका १३ वटै स्थानीय तहमा आरविटी किट पठाई सकिएको, स्वास्थ्यकर्मीहरु मार्फत परिक्षण भईरहेको र किट अभाव हुन थालेको जानकारी दिनु भएको थियो ।जिल्लालाई आवश्यक पर्ने किट र औषधिजन्य सामाग्रीका छिटो भन्दा छिटो ल्याउन सम्वन्धित निकायमा पुगेर आँफूले सक्दो पहल गर्ने सांसद लोहनीले वताउनु भएको छ ।

सांसद लोहनीले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र प्रहरी नायव उपरिक्षक रविन्द्र रेग्मीलाई पनि सम्पर्क गरी जिल्लाको पछिल्लो अवस्थाका वारेमा जानकारी लिनु भएको थियो ।

लकडाउन रहर होइन वाध्यता भएकाले आम नागरिकलाई केही सकस भएपनि भोलीका दिनमा आउने भयानक क्षती भन्दा अहिलेको सकसनै उत्तम विकल्प भएको सांसद लोहनीले वताउनु भयो । दैनिक जिवन कष्टकर भएपनि अतिआवश्यक सेवालाई भने निरन्तरता दिनु पर्ने सांसद लोहनीले बताउनु भएको थियो ।


यसै गरी नीलकण्ठ नगरपालिकाका प्रमु्ख भिमप्रसाद ढुंगानालाई पनि भेटेर सांसद लोहनीले नीलकण्ठ नगरपालिकाबाट भईरहेका गतिविधिहरुको जानकारी लिनुका साथै नगरपालिका जिल्लाको सदरमुकाममा रहेकाले शशक्त भूमिकाको लागि अनुरोध गर्नुभएको थियो । नीलकण्ठ नगरपालिकाका प्रमुख ढुंगानाले कोरोना रोकथामका लागि नगरपालिकाबाट गर्नु पर्ने कार्यक्रम र नागरिकलाई दिने सहयोगमा कुनै कमी नहुने प्रतिवद्धता जनाउनु भएको छ ।

सदरमुकाम भएकाले जिल्लाका सबै स्थानीय तहसँग सहकार्य र समन्वय भईरहेको भएपनि जिल्ला दैविक प्रकोप उद्धार समिति (डिडिआरसी) मा नीलकण्ठ नगरपालिकालाई उपेक्षा गरेको उहाँले गुनासो गर्नु भएको छ ।

सांसद लोहनीले धादिङ जिल्ला अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमला,सामाजिक अभियन्ता धुूववहादुर थापा, शम्भु सिंह ठकुरी, जिल्ला अस्पतालका स्वास्थ्यकर्मी कृष्णलाल उप्रेती संग पनि समसामयिक बिषयमा छलफल गर्नु भएको थियो ।