ह्‍वासिन सिमेन्टमा निर्माण सामग्री अभाव

1915 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका-२ ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेण्ट उद्योगमा निर्माण सामग्री अभाव भएको छ।

लकडाउनको कारण उद्योगका लागि चाहिने निर्माण सामग्री उपलब्‍ध हुन छाडेपछि अभाव शुरु भएको हो। नेपाल र चीन सरकारबीच सम्झौता भई चिनियाँ र नेपालीको संयुक्त लगानीमा निर्माण हुन लागेको ह्वासिन नारायणी सिमेण्ट उद्योग १५ अर्ब लगानीमा निर्माण सुरु भएको हो।

नेपालकै ठूलो सिमेन्ट उद्योगका रुपमा चर्चा हुँदै आएको ह्वासिन सिमेण्ट उद्योगको ०७५ फागुन १७ मा शिलान्याश भएको थियो। उद्योगले २०७७ वैशाखबाट उत्पादन शुरु गर्ने लक्ष्य राखेर काम थाले पनि २०७६ असार २९ गते आएको बाढीले उद्योग क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीले क्षति भएको संरचना पूर्वास्थामा फर्काउन करिब ४ महिना लागेको उद्योगले जनाएको छ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको चैत ११ देखिको लकडाउनका कारण काम गर्ने मजदुरसमेत अभाव भएको ह्वासिन सिमेन्ट उद्योगका आन्तरिक मामिला तथा व्यवस्थापन विभागका प्रवन्धक डिल्लीराज पोख्रेलले बताए।

 चिनियाँहरूको लगानी भएकाले उद्योगको निर्माण ठेकेदार पनि चीनियाँ नागरिक नै छन्। अहिले दुईवटा ठेकेदार कम्पनीले काम गरिरहेका छन्। चिनियाँहरू नयाँ वर्ष मनाउन चीन गएकै वेला कोरोना भाइरस संक्रमण देखिएपछि चिनियाँ मजदुर आउन पाएनन्। नेपालमा पनि कोरोना संक्रमण फैलन नदिन लकडाउन भएपछि १०० जनाको हाराहारीमा नेपाली मजदुर घर फर्किएका छन्। अहिले उद्योगमा १७५ जना नेपाली मजदुर र २२५ जना चिनियाँ मजदुरले सुरक्षा सतर्कताका साथ काम गरिरहेको पोखरेलले जानकारी दिए।

लकडाउनअघि उद्योग निर्माणस्थलमा २ सय ७० जना चिनियाँ र ३ सय ५० जना नेपाली कामदार गरी ६ सय २० जना कामदार तीन सिफ्टमा कार्यरत थिए। कोराना भाइरसको संक्रमण रोक्न सतर्कता अपनाएर निर्माण कार्य जारी राख्‍न स्थानीय प्रशासनले दिएको निर्देशनअनुसार ‘मजदुर उद्योग क्षेत्रबाट बाहिर निस्कन नदिई काममा जानुअघि र कामबाट फर्केपछि स्वास्थ्य परीक्षण गर्ने व्यवस्था’ मिलाएको पनि पोखरेलले बताए।

अहिले सडक निर्माण, सिभिल, वल्डीङको काम भइरहेको छ। स्थानीय बजारमा पाउने निर्माण सामग्री सकिएकाले अब बाहिरी जिल्लाबाट ल्याउनुपर्ने भएपछि काम रोकिने अवस्था आएको पोखरेल बताउँछन्।

विद्युत ट्रान्समिसन लाइनको वातावरणीय प्रभाव मूल्यांकनको काम पनि रोकिएको छ। त्यसका लागि धेरै अघिदेखि काम सुरु भए पनि पूरा भएको थिएन। चीनमा एक सय १४ वर्ष देखि सञ्चालनमा रहेको ह्वासिन सिमेन्टको एक सय ५० उद्योग रहेको छन्। नेपालमा सन् २०२० बाट उत्पादन शुरु गर्ने लक्ष्य राखेको कम्पनीले दैनिक तीन हजार मेट्रिकटन उत्पादन गर्ने लक्ष्य राखेको छ। १४ अर्ब लगानी निर्माण हुने सिमेन्ट उद्योग वातावरणमैत्री हुने कम्पनीले जनाएको छ।